नवलपुर ।
देवचुली नगरपालिका ११ मा रहेको महिलाहरुको पुरानो सहकारी संस्था महिला कल्याण बहुउदेश्यीय सहकारी संस्थाको कार्यसमितिमा उपाध्यक्ष पदमा टुंगो लाग्न सकेको छैन । राजनैतिक बिवादका कारण टुंगो नलागेपछि एकपटक स्थगित भएको निर्वाचनका लागि पुनः फागुन २२ गतेलाई निर्वाचन समितिले चुनावको मिति तोकेको छ । तर, उम्मेदवारमध्येकी एक शेषकान्ती सापकोटाले निर्वाचनमा आफुले भाग नलिने, शेयर सदस्य दिदी वहिनीलाई निर्वाचनमा भाग नलिन आग्रह गर्ने र निर्वाचनका बहानामा शेयर सदस्यले दुःखले जम्मा गरेको रकम खर्च गर्न नपाईने भन्दै सहमतिमै नेतृत्व चयन गर्न बिज्ञप्ति नै जारी गरेकी छन् ।
यता, निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले निर्वाचन समितिको आफ्नै बिधी र प्रक्रिया अनुसार २२ गते निर्वाचन हुने बताउनुभएको छ । भुसालका अनुसार सहमति कायम हुन नसकेपछि दुवै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान भैसकेको र उम्मेदवारी फिर्ता लिने समय अवधि पनि गुज्रिसकेको अवस्थामा समिति निर्वाचनको प्रक्रियामा लागेको जनाईएको छ ।
अर्का उम्मेदवार हरिकला पुरीले सहमति हुन नसकेपछि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचनमा जानुको बिकल्प नभएको बताईन् ।
उपाध्यक्ष बाहेक सबै पदमा सहमति कायम भएकोमा एक पदमा मात्रै निर्वाचन गर्दा हुने खर्चलाई बचाउन पनि सहमतिमा लैजानुपर्ने एकपक्षको तर्क रहेको छ ।
सहमतिमा समिति बनाउन भन्दै नेपाली कांग्रेस पक्ष र नेपाल कम्युनिष्ट पार्टी नेकपा पक्षले बार्ता समिति बनाएर पदमा भागबण्डा गरेर अरु सबै पदमा सर्वसम्मत गराउन सके पनि सर्वसम्मत हुन नसकेको उपाध्यक्ष पदका दुवै उम्मेदवार नेकपा निकटका हुन् । महिलाहरुको संस्थामा उनीहरुकै स्वतन्त्रता रहेपनि सहजीकरण गर्ने बिषयमा नेकपाले सापकोटालाई प्राथमिकतामा राखेर अगाडी बढाएपछि पुरीलाई गोप्य ढंगले कांग्रेसले सघाएको पाईएपछि सहमति नभएको नेकपा स्रोतले जनाएको छ । काँग्रेस भने यसलाई स्वीकार्न तयार छैन ।
यसअघि, फागुन १४ गतेका लागि तय भएको निर्वाचन प्रक्रिया सहकारी संस्था र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएपछि स्थगित भएको थियो । ताला खोल्ने बिषयमा सहमति भएपश्चात् निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडी बढाएको हो । निर्वाचन समितिले फागुन २२ गते बिहान ८ बजेदेखि दिउँसो २ वजेसम्मका लागी जनज्योति नमूना माबिमा निर्बाचन हुने समय र स्थान तय गरिसकेको छ ।