
ज्ञानु पंगेनी,देवचुली ।
ज्ञानु पंगेनी ।देवचुली । नवलपरासी पूर्व (नवलपुरको ) देवचुली नगरपालिकामा हेटौंडा – बर्दघाट २२० केभिए प्रशारण लाईन आयोजनाको हाईटेन्शन टावर निर्माणको विषयलाई लिएर उत्पन्न विवाद टुङ्गिएको छ ।

आईतबार जिल्ला प्रशाशन कार्यालयमा भएको बार्ताबाट तत्कालका लागि जंगल तथा ऐलानी जग्गामा बन्दै गरेको टावरको कामलाई नरोक्ने निर्णय गरिएको छ । देवचुली ७ र ८ नम्बर वडामा व्यक्तीको जग्गामा पर्ने जग्गामा बाँकी रहेको टावर निर्माण र तार टाङ्गने जग्गाको यकिन गर्न नापी कार्यालय र निजी स्तरका नापी प्राविधिक समेत बोलाएर सम्बन्धित जग्गाधनी , जनप्रतिनिधी र पार्टी प्रतिनिधीको रोहबरमा जग्गा नापजाँच गर्ने र नापजाँच पश्चात मालपोत कार्यालय , नगरपालिका प्रचलित मुल्य र वडा कार्यालयको चलनचल्तीको मुल्य सिफारिस समेतलाई आधार मानि मुल्याङ्कन गरि क्षतीपुर्ती उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
देवचुली ७ र ८ नं. वडा हुँदै जाने हाईटेन्शन लाईन अन्तरगत ६ वटा टावर निर्माण विगत १३ वर्षदेखि हुन सकेको छैन् । जसकध्ये २ वटा टावर मात्रै व्यक्तिगत जग्गामा पर्छ । एउटा एलानी र ३ वटा जंगल क्षेत्रमा पर्छ । रोकिएको टावर निर्माणको काम शुक्रबारदेखि सुरु गरिएपछि स्थानीयले विरोध गरेका थिए । जिल्ला प्रशाशन कार्यालयले सुरक्षा निकायको सहयोयमा टावर निर्माणको काम सुरु गरेपछि स्थानीयले जंगल हुँदै डाईभर्ड गरेर लैजानुपर्ने नभए चलनचल्तीको मुआब्जा दिनुपर्ने भनि माग राखेर आन्दोलित बनेका थिए । स्थानीयको विरोधपछि काम रोकिएको थियो । आज स्थानीय , जनप्रतिनधी , प्रमुख जिल्ला अधिकारी सहित बसेर बार्ता भएको थियो । बार्तापछि दुई बुँदे निर्णय गरेर तत्कालका लागि विवाद समाधान गरिएको छ ।
उक्त क्षेत्रमा ६ जना व्यक्तीको जग्गा पर्ने प्रारम्भिक कुरा आएको र वास्तविक कति जनाको जग्ग पर्छ भनेर यकिन गर्ने काम गरिने प्रजिअ पंगेनीले बताउनुभएको छ । स्थानीयले भने ७ र ८ नम्बर वडामा करीब १५ घर प्रभावित हुने बताएका छन् । एकै व्यक्तीको १७ कठ्ठासम्म जग्गा पर्ने स्थानीयको भनाई छ ।