काठमाडौं –
सर्वोच्च अदालतले नेकपाको नाम विवादबारे अदालतमा विचाराधीन रहेको मुद्दाको आज फैसला सुनाउँदै छ। यसअघि फागुन २० गते नै फैसला सुनाउने दिन तोकिएको भए पनि त्यसदिन अदालत बिदा भएका कारणले सरेको थियो।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले दुवैतर्फको बहस सकेर मुद्दा निसुमा राखेका थिए। ऋषि कट्टेलले आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरूलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
कानुनीरूपमा विभाजित भई नसकेको सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला फैसला आउन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभाको विघटन गरेपछि सर्वोच्चले उनको निर्णय बदर गर्दै फागुन ११ मा संसद पुनःस्थापना गरिसकेको छ।
१३ दिनभित्र अधिवेशन बोलाउन दिएको परमादेशअन्तर्गत आजबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदैछ। निर्वाचन आयोगले नेकपाको विवादका बारेमा निर्णय नदिइसकेका बेला सर्वोच्च अदालतबाट आउन लागेको नेकपाको नाम विवादको फैसलालाई चासोका साथ हेरिएको छ।
कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।