
कावासोती ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोतीका महिला अधिकारकर्मीसँग सम्बन्धित संस्थाहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेको महिला अधिकारकर्मीहरुले गुनासो गरेका छन् ।

सोमबार कावासोतीमा महिला अधिकार मञ्च कावासोती र अखिल नेपाल महिला संघ क्रान्तिकारी नवलपुरको आयोजनामा भएको १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिला अधिकारकर्मीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा महिला अधिकार मञ्च कावासोतीकी अध्यक्ष एवम् अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य गीता पाण्डेले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा कावासोती नगरपालिकाले सबै महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्थालाई निमन्त्रणा नगरेको गुनासो गरिन् ।
त्यसैगरी महिला अधिकार मञ्च नवलपुरकी पूर्व जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य कल्पना विन्दु गौतमले पनि यस्तै गुनासो गरिन् । त्यसैगरी उनले महिला अधिकारको सवालमा गरिएका कार्यक्रमहरु दमनमा परेका महिलाहरुको सहभागितामा भन्दा पनि दमन गर्ने महिलाहरुको सहभागितामा बढी हुने गरेको भन्दै महिला अधिकारका सवालहरु पीडित महिलाहरुसम्म पुग्न नसकेकोमा जोड दिइन् ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापा, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले बोल्दै पुरुषले सरह काम गर्दा महिलाहरुले पनि समान ज्याला पाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी नवलपुरकी संयोजक नर्मदा रानाभाटको अध्यक्षतामा भएको थियो ।