काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नयाँ सरकार निर्माणको वातावरण नबनेसम्म समर्थन फिर्ता नलिने निर्णय गरेको हो।
बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताए। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग नयाँ सरकार गठनका लागि थप छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय गरेका छैनौँ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने थियो। सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’
उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमलाई सच्याएर संविधानलाई लिकमा ल्याउने काम भएको बताउँदै संसदले दुई वर्ष काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरु रहेको बताए। ‘संसद् दुईवर्ष चल्नुपर्छ, यो संसदले सरकार दिनुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुसँग सरकार गठनबारे वार्ता गरिरहेका छौँ। अन्य विकल्पलाई पनि खुला राखेका छौँ।’