नवलपुर । किशोरी बलात्कारकाे आरोपमा नवलपुरबाट तिन जना प्रहरी पक्राउ परेेेेका छन् । १८ वर्षीया किशोरीलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै प्रहरीले मध्यविन्दु–६ का २४ वर्षीय सुशन न्यौपाने सहित उनलाई सहयोग गरेको आरोपमा सोही स्थान बस्ने २६ वर्षीय तुल बहादुर महतो र ३० वर्षीय सतिस महतोलाई गिरफ्तार गरेको हाे ।
आरोपित न्यौपानेले पीडित किशोरीलाई फागुन ११ गते मध्यविन्दु–४ मा रहेको अम्रेला ब्रिज होटलमा लगि नशालु पदार्थ खुवाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटना फागुन ११ को भएपनि स्थानीय रुपमा नै घटनालाई मिलाउने प्रयास भएको थियो । तर, घटनाको बारे जानकारी आएपछि चोरमारा प्रहरी चौकीका सई कृष्ण शाहाको कमाण्डमा गएको प्रहरी टोलिले आरोपित तिनै जनालाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय पठाएको हो । घटनाको बारेमा जानकारी प्राप्त हुन साथ प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर बिशाल तामाङले बताउनुभयो ।
यसअघि प्रहरीले ६० वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई गिरफ्तार गरेको थियो । बुलिङटार गाउँपालिका–२ बस्ने पीडित महिलालाई आरोपित बालकले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दर्ता गराएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपित बालकलाई फागुन १५ गते साँझ गिरफ्तार गरि घटनाको विषयमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर विशाल तामाङले बताउनुभयो । पीडित महिलाको फागुन १५ गते भरतपुर जिल्ला अस्पताल चितवनमा स्वास्थ्य परिक्षण गरिएको छ ।