
परासी ।
उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष केशव भण्डारीले संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउँदै भन्सार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन र महेशपुरदेखि सदरमुकाम परासी हुँदै सुनवल–महलपोखरी–गोठादी–कालीगण्डकी डाइभर्सन हुँदै पोखरासम्मको सडक विस्तारका लागि आग्रह गरिएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीसहितको टोलीले अर्थमन्त्री पौडेललाई पश्चिम नवलपरासीको विकासमा महेशपुर भन्सार पनि जोडिएकाले त्यसको क्षमता विस्तारका लागि आग्रह गरेका हुन् ।
भन्सार कोड नहुँदा महेशपुर भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ, मेसिन औजारलगायतका सामग्री आयात–निर्यात गर्न नपाएको बताउँदै तत्कालै कोड व्यवस्था गर्न माग गरिएको भण्डारीले बताए ।
त्यसैगरी, महेशपुर भन्सारमा भन्सार गृह, भण्डार गृह, क्वारेन्टाइन चेक पोस्ट, खाद्य परीक्षण प्रयोगशाला सवारी पार्किङलगायतका आधारभूत पूर्वाधार निर्माण गर्न पनि माग गरिएको छ । महेशपुर भन्सार छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको धेरै वर्ष भइसके पनि भन्सारले ठूलो भन्सारको रुपमा काम गर्न सकेको छैन ।