कावासोती । पूर्वी नवलपरासीमा ३४ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ ।
बैशाख ६ र ७ गते राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तरगत नवलपुरमा ६ महिनादेखि ५ बर्ष मुनिका ३४ हजार बालबालिकालाई भिटामिन ए र १ बर्षदेखि ५ बर्ष मुनिका २९ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुरमा ८ वटा पालिकाका ९२ वटा वडामा ३ सय ५९ जना महिला स्वास्थ्य स्वयम् सेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको उनले बताए ।
यसैबीच सरकारले बालबालिकालाई भिटामिन ’ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।