
नवलपुर ।
२१ वर्षीय युवतीलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले कावासोतीबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले कावासोती–२ को मातपोल कार्यालय नजिकै रहेको कृष्ण होटल रेष्टुरेण्ट एण्ड लजका सञ्चालक कृष्ण भन्ने लोकनाथ पोखरेललाई पक्राउ गरेको हो ।
होटलमा यौन व्यवसाय सञ्चालन हुदै आएको भन्ने जनगुनासोको आधारमा प्रहरीले शनिबार होटलमा छापा मारेको थियो । सो क्रममा प्रहरी होटलबाट पीडित २१ वर्षीय युवतीलाई उद्दार समेत गरेको छ । शुरुमा होटलमा सहयोगीको रुपमा काममा राखेर पछि ग्राहकसंग शारिरीक सम्बन्ध राख्न दवाव दिई रकम लिने गरको प्रारम्भीक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।

पीडित युवतीको उजुरीको आधारमा आरोपित पोखरेललाई नवलपुर जिल्ला अदालतबाट आईतबार मानव बेचबिखन तथा ओसार पोसार शिर्षकमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताउनुभयो । पीडित युवतीलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
नवलपुरको विभिन्न स्थानमा रहेको होटल तथा लजहरुमा वेश्यावृत्ति हुने गरेको गुनासो बढ्दो छ । जिल्लाको राजमार्गको दक्षिण तर्फ नारायणी नदी किनार आसपासको क्षेत्रमा सञ्चालनमा रहेको होटल तथा लजहरुमा यौन व्यवसाय हुने गरेको घटना विभिन्न समयमा आउने गरेको छ ।