तिर्थराज डुम्रे
चोरमारा । मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा पिसिआर परिक्षणको लागि आउनेको चाप बढेपछि रिपोर्टको लागि चार दिन सम्म प्रतिक्षा गर्नुपर्ने अवस्था सृजना भएको छ ।
दैनिक एक सय पचास भन्दा बढी कोभिड–१९ परिक्षणको लागि जिल्ला अस्पताल आउने गर्दछन् । हाल जिल्ला अस्पतालमा रहेको परिक्षण ल्यावको क्षमता दैनिक ९४ रहेको छ । शनिबार अपारान्ह बुधबार (बैशाख २९ गते) बिहान सम्म संकलन गरेको स्वाब परिक्षणको रिपोर्ट आएको छ ।
परिक्षणको लागि आउनेको संख्या दैनिक रुपमा बढ्दै गएपछि रिपोर्ट आउन ढिलाई भएको मध्यविन्दुु जिल्ला अस्पतालका सुचना अधिकारी छबिलाल सुवेदीले बताउनुभयो । “दैनिक एक सय पचास भन्दा बढी संख्यामा पिसिआर परिक्षणको लागि आउनु हुन्छ । हाम्रो हालको क्षमता दैनिक ९४ जना मात्रै छ ।”– सुवेदीले भन्नुभयो –“ रिपोर्टको लागि अहिले तिन/चार दिन पर्खनु पर्ने अवस्था छ ।”
मध्यविन्दु जिल्ला अस्पतालमा अहिले नवलपुर जिल्लाको बिभिन्न स्थानबाट कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरु परिक्षणको लागि आउने गर्दछन्। त्यसरी परिक्षणको लागि आउनेहरु नाम दर्ता पस्चात दुई चरणमा एकमुष्ट स्वाब संकलन गरिन्छ । दैनिक रुपमा कार्यालय समयमा पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिन्छ । बिहान ११ः३० बजे अगाडी नाम दर्ता गराएकाको ११ः३० देखि परिक्षण शुरु गरिन्छ भने अपराहन्न ४ बजेपछि परिक्षण हुदै आएको सुचना अधिकारी सुवेदीले बताउनुभयो ।
स्वाब परिक्षणमा आउनेहरुको चाप बढेपछि दुई सिफ्टमा ल्याव सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । जनशक्ति र समय व्यवस्थापन सहितको प्राविधिक पक्षहरु मिलाएको अवस्थामा दुई सिफ्टमा ल्याव सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले एक पटकको परिक्षण रिपोर्टको लागि संकलन देखि रिपोर्टसम्म १३ घण्टा समय लाग्ने गरेको छ ।
हाल कोभिड–१९ संक्रमितको दर बढ्दो अवस्थामा रहेको र निषेधाज्ञा समेत जारी भएको अवस्थामा परिक्षणको लागि आउनेहरुको संख्या बढी भएपनि त्यसको अनुपात कसरी अगाडी बढ्छ भन्ने विषयमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो । केही दिन परिक्षणको लागि आउनेहरुको संख्या हेरेर दुई चरणमा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालमा बुधबार साँझ, बिहिबार, शुक्रबार र शनिबार संकलन गरेको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।