राजु चापागाई, देवचुली । देशभर कोरोना कहर चलिरहँदा देवचुली नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु भने कोरोना संक्रमितको स्याहारमा खटिएका छन । संक्रमित भएको थाहा भएपछी देवचुली जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु संक्रमितको घरमै पुग्छन। छिमेकमा संक्रमित देखिँदा टोलमा नै त्रास फैलिएको छ तर जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु त्रास हटाउँदै स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै संक्रमितको घरमा पुग्छ्न । स्वास्थ्य अवस्था बुझेपछी उनीहरुले संक्रमितका लागि आवश्यक औषधी र परामर्श समेत दिने गरेका छ्न ।
कोरोना संक्रमित थप भएको थाहा भएपछी संक्रमितको घरमै पुगेर भेटी उहाँहरुको स्वास्थ्य अवस्था के कस्तो छ , औषधी भए/ नभएको बुझ्ने , आवश्यकलाई औषधी उपलब्ध गराउनुका साथै उहाँहरुको आत्मबल बढाउनका लागी हौसला प्रदान गर्ने काम गरिरहेको प्रगतिनगर स्वास्थ्य चौकीको अहेव लीला डुम्रेले बताउनुभयो । एक पटक भेटी सकेको संक्रमितलाई भने दिनहुँ स्वास्थ्य अवस्था बुझ्नका लागी फोन गर्ने र संक्रमितले आफुहरुलाई समस्या भए फोन गर्ने र उहाँहरुलाई आवश्यक सहयोग गर्ने गरेको डुम्रेले बताउनुभयो ।
देवचुलीमा अहिले ४ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छ्न ।नगरभित्रका स्वास्थ्यकर्मीलाई चार समुहमा विभाजन गरी संक्रमितलाई जनप्रतिनिधिसँगै घर भेट कार्य तथा आवश्यक स्वास्थ्य परामर्श अभियानकै रुपमा गरिदै आएको देवचुली नगरपालिका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताउनुभयो । संक्रमितलाई घरमै पुगी भेट्दा उनीहरूले धेरै नै राम्रो मानेको र आफुमा भएको समस्या निर्धक्क बताउँदा आवश्यक सहयोग गर्न सकेको पराजुलीले बताउनुभयो ।
नगरपालिकाका जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मीसँगै आ-आफ्नो वडाको संक्रमितहरुको घर दैलोमा पुगी आवश्यक परामर्श गरिरहनु भएको देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । देवचुली नगरपालिकामा कोरोना नियन्त्रणका लागि पर्याप्त स्रोत साधन परिचालन गरिएको उप प्रमुखले बताउनुभयो ।
कोरोना संक्रमितहरुले जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु घरमै आएर परामर्श गर्दा आफुहरुमा आत्मविश्वास बढेको र समाजले आफुलाई गर्ने व्यवहार समेत परिवर्तन गरेको बताए।
देवचुली नगरपालिकामा मंगलबारसम्म दोस्रो भेरीयन्टको कोरोनाबाट २६९ जना संक्रमित भएका छ्न साथै १६९ जना निको भएका छन भने ४ जनाको मृत्यु भएको छ । ९६ जना सक्रीय संक्रमित रहेका मध्ये ८९ जना होम आईसोलेसनमा र ५ जना दुम्कौली कोभिड अस्पताल साथै १ जना मध्यबिन्दु अस्पताल र १ जना अन्य अस्पतालमा भर्ना भएका छ्न । लक्षण देखिएका र समस्या परेका संक्रमितलाई नगरपालिकाले दुम्कौली कोभिड अस्पतालको व्यवस्था गरेको छ । त्यहाँ १५ शैयाको कोभिड शैया बनाईएको छ भने नगरपालिका नजिकै रहेको जनज्योति नमुना मा. वि. मा ३१ बेडको आईसोलेसन बनाईएको छ ।