
नवलपुर ।
नवलपुर जिल्लाका सबै स्थानीय तहमा करोडौँको रकम बेरूजु भएको पाइएको छ । आर्थिक वर्ष २०७५-०७६ को स्थानीय पालिकाको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा नवलपुरका सबै स्थानीय तहको धेरैथोरै रकम बेरूजु देखाइएको छ ।

त्यसैगरी, पालिकाहरुले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको नपाइएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार ५२ लाखदेखि ६ करोड ५० लाखसम्म बेरूजु रहेको छ ।
सबैभन्दा बढी कावासोती नगरपालिकाको ६ करोड ५० लाख ३७ हजार बेरूजु देखिएको छ । कावासोतीका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बेरूजुमध्येको केही रकम फस्र्योट भएको र केही बाँकी रहेको बताए । कावासोतीपछि गैँडाकोट नगरपालिकाको सबैभन्दा बढी बेरूजु देखिएको छ । गैँडाकोटको ५ करोड ९९ हजार रूपैयाँ बेरूजु देखिएको छ ।
४ नगरपालिकाहरुमध्ये सबैभन्दा कम देवचुली नगरपालिकाको बेरूजु देखिएको छ । देवचुली नगरपालिकाको २ करोड ७६ लाख ४३ हजार बेरूजु देखिएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको महालेखा परीक्षणले देखाएजस्तो बेरूजु नरहेको दाबी छ । उनले भने, ‘टोली आएर हतारहतार टिपनटापन गरेर जानु र नगरपालिकाको कुरै नसुनेर आफ्नो ढङ्गको प्रतिवेदन बनाएको कारण बेरूजु देखिएको हो ।’
कुन पालिकाको कति बेरूजु
कावासोती
लेखापरीक्षणबाट ६ करोड ५० लाख ३७ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २ लाख २९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १५ लाख ४१ हजार, नियमित गर्नुपर्ने ८३ लाख ९० हजार र पेश्की ५ करोड ४८ लाख ७७ हजार रहेको छ ।
देवचुली
लेखापरीक्षणबाट २ करोड ७६ लाख ४३ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २ लाख ५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ९५ लाख ९२ हजार, नियमित गर्नुपर्ने ७० लाख ९६ हजार र पेश्की रकम ७ लाख ५० हजार रहेको छ ।
मध्यविन्दु
लेखापरीक्षणबाट ३ करोड ६१ लाख ५६ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ८ लाख ४३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड ४९ लाख ८८ हजार, नियमित गर्नुपर्ने २८ लाख २२ हजार र पेश्की ७५ लाख ३ हजार रहेको छ ।
गैँडाकोट
लेखापरीक्षणबाट ५ करोड ९९ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ७९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ३ करोड ८ लाख १८ हजार, नियमित गर्नुपर्ने १ करोड १६ लाख २३ हजार र पेश्की ७५ लाख ८० हजार रहेको छ ।
हुप्सेकोट
लेखापरीक्षणबाट ३ करोड ९ लाख ५१ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १ करोड ८० लाख ३३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ लाख, नियमित गर्नुपर्ने ९४ लाख १५ हजार र पेश्की ३४ लाख ३ हजार रहेको छ ।
बौदीकाली
लेखापरीक्षणबाट ५२ लाख २१ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १४ लाख २१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ७० हजार, नियमित गर्नुपर्ने २ लाख र पेश्की बेरूजु ३५ लाख ३० हजार रहेको छ ।
बुलिङटार
लेखापरीक्षणबाट १ करोड ५२ लाख ५८ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ४१ लाख ६६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ८ लाख २९ हजार, नियमित गर्नुपर्ने ९८ लाख ४८ हजार र पेश्की बाँकी ४ लाख १५ हजार रहेको छ ।
विनयी त्रिवेणी
लेखापरीक्षणबाट २ करोड ८७ लाख ८४ हजार बेरूजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ७ लाख १८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड २९ लाख, नियमित गर्नुपर्ने ५१ लाख ६६ हजार रहेको छ ।