डोलराज रानाभाट, गैँडाकोट, जेठ २८ । नेपाली काँग्रेस गैँडाकोट ५ ले सवै नगरवासीलाई कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराउन माग सहित आज गैँडाकोट नगरपालिकामा १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । गैँडाकोट ५ का सभापति गोविन्द घिमिरले नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णु कुमारी कडेँल र गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँललाइ ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । नगरप्रमुखको कार्यव्यस्तताका कारण उपप्रमुख र वडाअध्यक्षलाई प्रत्यक्ष पत्र बुझाइएको थियो । ध्यानाकर्षण पत्र बुझाउँदै वडा सभापति घिमिरेले नेपाली काँग्रेस सत्तामा नभएपनि सधैँ जनताको समस्या र त्यसको समाधानका लागि निरन्तर आवाज उठाइरहने पार्टी भएकाले ध्यानाकर्षण पत्र बुझाएको बताउँदै सम्वोधन सहित यसको कार्यान्वयन गरिदिन नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।
नगरपालिकाले विनियोजन गरेको योजनाहरु कार्यान्वयन गर्न कठिनाइ भएको, केही योजना कार्यान्वनय गर्न नसकिएको र अपुग भएको भन्दै आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा समावेश गर्न आग्रह गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको घिमिरेको भनाई थियो ।
केन्द्र र प्रदेश सरकारसँग ताकेता गरी यथाशिघ्र कोरोना विरुद्धको खोप व्यवस्था गरी सवै नगरवासीलाई जिउने सुनिश्चितता गर्न, वडानम्वर ४ र ५ लगायत ठाउँमा डुवानका कारण हुने आर्थिक क्षती नियन्त्रणका लागि भल निकासको ठोस काम गर्न, सम्पूर्ण विद्यार्थीहरुलाइ सुरक्षित साथ पढ्न पाउने व्यवस्था मिलाउन र अनलाईन कक्षाको नाउँमा ८० प्रतिशत सम्म लिने गरिएको शुल्क वढिमा ४० प्रतिशत भन्दा बढि नलिनेगरी निर्देशन दिन माग गरिएकोछ ।
त्यस्तै व्यापार व्यवसाय ठप्प रहेकोले घरधनीलाई भाडा छुट दिन नगरपालिकाद्धारा सूचना प्रकाशित गरी घरवहाल कर,व्यवसायिक कर छुट दिन,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट स्थाई प्रकृतिका स्थानीय योजनाहरुसँग समन्वय गरी संचालन गर्न, बेरोजगारी न्यूनिकरण हुने गरी विशेष कार्यक्रम ल्याउन, टोल विकास संस्थाबाट आएका योजनाहरुलाई प्राथमिकता दिन,मापदण्ड पुगेका बाटोहरु ढल सहित कालोपत्रे प्रकृया अगाडि बढाउन र क्रमिक रुपमा सवै सडक कालोपत्रे तथा मर्मत गर्न आग्रह गरिएको छ ।
नारायणी नदीको तटमा व्यापक कटान भइरहेकाले दीर्घकालिन तटबन्धन गर्न,गैँडाकोट नगरपालिका भित्र व्यवस्थित बजार र सवै विद्याको उच्च शिक्षा अध्ययन गर्ने सरकारी कलेज स्थापना गर्ने गरी आगामि आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा समावेश गरी योजना अघि सार्न आग्रह गरिएको नेपाली काँग्रेस गैँडाकोट ५ का सभापति गोविन्द घिमिरले जानकारीदिनुभयो ।
साविक गैँडाकोटमा अस्पताल नभएका कारण विभिन्न समयमा आउने महामारीले ठूलो समस्या निम्त्याइरहदा प्रसुती सेवा र सम्पूर्ण सुविधा सहितको अस्पताल निर्माण गर्न तत्काल बजेट विनियोजन सहित योजना अगाडि बढाउन आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै वडाअध्यक्ष नवराज कडेँलले धेरै कार्यहरु वडामा भइरहेको र बजेट निर्माणका क्रममा नेपाली काँग्रेस वडानम्वर ५ ले दिएका सुझावहरुलाई मनन गर्दै आगामी योजनाहरु बनाउँदै लैजाने बताउनुभयो । उपप्रमुख विष्णुकुमारी कडेँलले भल निकासका लागि गैँडाकोट १ बाट बग्ने पानी वृटिश क्याम्प र वडानम्वर २ बाट आउने भल भृकुटी कागज कारखानाबाट नारायणीमा लैजाने गरी काम भइरहेको बताउनुभयो । त्यस्तै खोपका लागिपनि केन्द्रमा ताकेता भइरहेको, साविक गैँडाकोट ५ मा स्वास्थ्य चौकी भवन बनिरहेको बताउँदै काँग्रेस गैँडाकोट ५ ले बुझाएका सवै बुँदा महत्वपूर्ण रहेको बताउनुभयो । धेरै जसो काम भइरहेको र थप कार्य आगामी बजेट निर्माणका क्रममा सम्वोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा सभापति गोविन्द घिमिरे सहित सचिव श्याम गौतम,कार्यसमिति सदस्य रत्न सापकोटा, दिलमाया सिग्देल,धनीराम शर्मा, मिन वहादुर अधिकारी लगायतको उपस्थिती थियो ।