
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीका महिलाहरुले सामुहिक तेजपत्ता खेतीको सुरुआत गरेका छन् ।
कावासोती २ मा रहेको शिव साामुदायिक वनका उपभोक्ता रहेका महिलाहरुले फुर्सदको समयलाई सदुपयोग गर्दै केही नयाँ कार्यको थालनी गर्ने र आत्मनिर्भर बन्ने उदेश्यका साथ तेजपत्ता खेतीको सुरुआत गरेका हुन् । वन समुहमा आबद्ध रहेका २५ जना महिला मिलेर सामुदायिक उद्यमशील महिला समूह स्थापना गरेर तेजपत्ता खेती गर्न लागि परेका हुन् । शनिबारदेखि महिलाहरुले तेजपत्ता रोपणको काम थालेका छन् । पहिलो दिन करीब ५०० सय बीरुवा रोप्ने काम भएको महिला समुहकी संयोजक सीता खड्काले बताउनुभयो । वनसंग ४ हेक्टर क्षेत्रफल माग गरिएको छ । अहिले करीब २ हेक्टर क्षेत्रफलमा २ हजार बीरुवा रोप्ने खड्काले जानकारी दिनुभयो । सोमबारसम्म सबै बीरुवा रोपेर सकिने उहाँले बताउनुभयो ।
सामुदायिक वनको त्यसै खेर गएको जग्गालाई सदुपयोग गर्दै व्यवसायिक रुपमा नै तेजपत्ता खेती गरेर आयआर्जन गर्ने उदेश्यले काम थालिएको संयोजक खड्काले बताउनुभयो । खेती गर्न महिलाहरुले गत बैशाख १९ गतेदेखि नै वनको झाडी सफा गर्ने , खाडल खन्ने तालिम लिने र आवश्यक तयारी गर्ने काममा खटिएका थिए । कोभिड – १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरि प्रतेक दिन ५ – ५ जना महिलाहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै झाडी सफा गर्ने , खाल्डो खन्ने काम गरेको र शनिबारदेखि बीरुवा रोपण गर्ने काम थालनी गरेको खड्काले बताउनुभयो । आगमि दिनमा थप खेती बिस्तार गर्ने योजना समेत समूहको छ ।

डिभिजन वन कार्यालय पूर्वी नवलपरासीबाट तेजपत्ताको बीरुवा सहयोग गरिएको हो । समुहलाई तालिम लगायतका प्राविधिक सहयोग एफ.ए.ओ.संस्थाले गरेको हो । तेजपत्ता मसलाको रुपमा बढि उपभोग हुँदै आएको छ । तर, यस समुहले भने तेजपत्ताबाट तेलको उत्पादन गर्ने योजना बनाएको छ । ‘तेजपत्ता मसलामा बढि प्रयोग हुँदै आएको छ । तालिममा हामिले तेल निकाल्ने बारेमा सिक्यौँ । हामिले तेलका लागि खेती गर्ने योजना बनाएका छौँ । सोही अनुसार आउदा दिनमा तयारी गर्नेछौँ । ’ खड्काले भन्नुभयो – ‘तेजपत्ताको तेल खान र जडिबुटीमा प्रयोग हुने र मुल्य पनि राम्रै हुने भएकाले हामिले तेलका लागि खेती गर्ने सोँच बनाएका हौँ । ’