
भिम भुसाल, देवचुली ।
पुर्वि नवलपरासीको देवचुली नगरपालिकाले विशेष नगर सभा मार्फत दुई विधेयक सर्वसम्मत पारित गरेको छ । विहिवार नगरपालिकामा बसेको विशेष नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को सम्पतिकर, मालपोत तथा भुमिकर र स्थानिय निकायका कर्मचारीहरुको बढुवा सम्बन्धी विधेयक सर्वसम्मत पारिक गरेको हो । देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले प्रस्तुत गर्नुभएको सम्पतिकर, मालपोत तथा भुमिकर सम्बन्धी राजश्वको दर माथि छलफल गर्दै मालपोत कार्यालयले तोके अनुशारको दररेट कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्थानिय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्विकृत गरी साविक पदाधिकार रहेको पदलाई नै स्वत एक तह माथिल्लो पद कायम गर्ने गरी पाँचौ देखि सातौ तहका ७ पदहरुको दरबन्दी स्विकृत भएको छ । विधेयक विद्यायन समितिका संयोजक दिनानाथ भुसालले प्रस्तुत गर्नुभएको कर्मचारी बढुवा विद्येयकलाई विशेष नगरसभाले सर्वसम्मत पारित गरेको हो । पारित विद्येयकलाई नगरप्रमुख पूर्णकुमार श्रेष्ठले प्रमाणिकरण गरी स्थानिय राजपत्रमा प्रकाशित गरेपछी लागु हुनेछ ।