
नवलपुर ।
मनशोभा आयोगले वितरण गरेको नवलपुरका १ हजार १ सय ४५ जनाको रोक्का भएको जग्गा धनी लालपूर्जा फुकुवा गर्न भूमि सम्बन्धित समस्या समाधान आयोग नवलपुरले मन्त्रालयमा सिफारिस गरेको छ । तर देउवा सरकारले आयोग नै विघटन गरेपछी त्यसको सुनुवाई अन्योलमा परेको छ ।

भूमि सम्बन्धित समस्या समाधान आयोग नवलपुरका अध्यक्ष कृष्ण घिमिरेका अनुसार आयोग गठन भए लगतै मागिएको निवेदनमा १ हजार १ सय ४९ जनाको निवेदन परेको मध्ये १ हजार १ सय ४५ जनालाई दिइएको लालपूर्जा फुकुवा गर्नुपर्ने देखिएकोले फुकुवा गर्न यो आयोगले सिफारिस गरेको छ ।
त्यसैगरी यो आयोगले गरेको अध्ययन अनुसार नवलपुरमा लालपूर्जा हातमा परेर पनि नक्सा प्रमाणित नभएका कारण बैंकमा धितो राखेर कर्जा लिन र टुक्रा टुक्रा पारेर बेच्न नमिल्ने अवस्थामा रहेका ८ सय १९ जनाको लालपूर्जा रहेको छ ।
त्यसैगरी अहिलेसम्म बनेका आयोगहरुबाट सम्पूर्ण काम भएर लालपूर्जा पाउन मात्र रोकिएका नवलुपरमा १ हजार ५ सय २३ जना रहेका छन् ।