
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फि रुपमा सञ्चालनमा आएको छ । गएको बिहीबारबाट अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फि रुपमा सञ्चालनमा आएको हो ।
पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्ण रुपमा सञ्चालनकालागि निरन्तर प्रयास गरिएपनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाएको डाइभर्सनबाट यातायात दुई तर्फि सञ्चालनमा आएको हो । सोमबारबाट पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरि बुधबार साँझबाट दुईतर्फि रुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पदम बढुले जानकारी दिनुभयो । बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भएपनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् ।

सोमबारबाट एकतर्फि रुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फि रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बढुले बताउनुभयो । ‘ डाइभर्सन बनाएको भएपनि हिलोले समस्या थियो , सोमबारदेखि पानी पर्न रोकियो , निरन्तर मर्मत गर्ने काम समेत भयो , त्यसपछि बुधबार साँझदेखि दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ ‘ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकरी बढुले भन्नुभयो । २३ स्मृति बाहेक गैंडाकोटका अन्य डाइभर्सन भने यस अघिनै मर्मत गरिएको थियो । राजमार्ग पूर्ण रुपमा सुचारु भएसँगै राजमार्गमा रोकिएका सवारी आफ्नो गन्तव्य तर्फ छुट्न थालेका छन् । राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवै तर्फगरि करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो ।
डाइभर्सनबाट दुईतर्फि सवारी सञ्चालनमा आएसँग उक्त सवारीको लाइन अहिले घट्दै गएको सूचना अधिकारी बढुले बताउनुभयो । तर अझै सो खण्डमा बेला बेलामा गाडी बिग्रिने लेन मिचेर हिड्न खोज्ने कारणले जामको समस्या कायमै रहेको छ । पानी नपरेर नियमित दुईतर्फि रुपमा आज दिनभर सवारी सञ्चालन हुन सके रोकिएका सबै गाडी पार हुनसक्ने सूचना अधिकारी बढुले बताउनुभयो । राजमार्ग बिस्तारका क्रममा बनाइएका अस्थाई डाइभर्सन पानी परे कुनै पनि समय बाढीले क्षति पुर्याई पुनः अवरुद्ध हुने सम्भावना भने यथावत रहेको छ ।