रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीमा भदौ २१ गते हुने वडा अधिवेशनको तयारी तिव्र पारिएको छ ।
नवलपुरमा रहेका ९२ वटा वडामा भदौ २१ गते एक साथ अधिवेशन हुने नेपाली काँग्रेस नवलपुरका कार्यालय सचिव गोपाल वस्ताकोटीले बताए ।
उनका अनुसार शुक्रबार ९२ वटाका निर्वाचन मण्डलमा रहने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । शनिबारसम्म सवै वडाका वडा स्तरीय निर्वाचन अधिकृत तय हुने छ । नवलपुरमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य १६ हजार ५ सय २१ जना रहेका छन् ।
नेपाली काँग्रेस नवलपुरका अनुसार भदौ २१ गते हुने वडा अधिवेशनले १ हजार ८ सय ४२ जना प्रतिनिधि छनौट गर्ने छ । गैडाकोट नगरपालिकाबाट ४ सय २० जना, कावासोती नगरपालिकाबाट ३ सय १३ जना, देवचुली नगरपालिकाबाट २ सय ६५ जना, मध्यविन्दु नगरपालिकाबाट २ सय २० जना, बुलिङटार गाउँपालिकाबाट १ सय १० जना, हुप्सेकोट गाउँपालिकाबाट १ सय जना, बौदीकाली गाउँपालिकाबाट ९० जना र विनयी त्रिवेणी गाउँपालिकाबाट १ सय ४५ जना प्रतिनिधि छनौट हुने छन् ।
त्यसैगरी ९२ वटा वडाका वडा सभापति पनि स्वतः प्रतिनिधिमा छनौट हुने, प्रदेश सभा सदस्य र संघीय सभा सदस्यमा उमेद्वार भएका १४ जना र प्रत्येक पालिकाबाट २÷२ जना आरक्षण गरी १६ जना प्रतिनिधि हुने प्रावधान रहेको छ ।
वडा अधिवेशनले गाउँपालिकाका वडाहरुमा २६ सदस्यीय वडा समिति र नगरपालिकाहरुको वडाहरुमा ३२ सदस्यीय वडा समिति छनौट गर्ने छ ।
वडाबाटै छनौट भएका प्रतिनिधिहरु नै सहभागी भई नगरपालिका र गाउँपालिका स्तरका अधिवेशन भदौ २७ गते हुने छ ।
त्यसैगरी असोज १ गते प्रदेश सभा निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय अधिवेशन, असोज ५ गते प्रतिनिधि सभा स्तरको क्षेत्रीय अधिवेशन हुने छ भने असोज १० गते जिल्ला स्तरको अधिवेशन गर्ने तालिका रहेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ । नवलपुरबाट ५० जना केन्द्रिय प्रतिनिधि छनौट हुने छन् ।
प्रदेश प्रतिनिधि भने कति छनौट हुने अझै तय भई नसकेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ ।