डा.साब र नवलपुरेको बढो विचित्रको साइनो छ, हंसमुख र एकदमै कम बोल्ने स्वभावका नेता भएका कारण उनको जिल्ला आगमन वैदेशिक पर्यटक भित्रीएको जस्तै आभास यहाँका जनतामा हुन्छ । हामी कहिलेकाहीँ कोही गोरो छाला भएको मान्छे यहाँ आउदा केही पाइन्छ की भन्ने आशामा उनीहरुलाइ फुल माला लगाइदिन्छौँ उ खुशि देखिन्छ हामी मख्ख हुन्छौ अब त फ्याट्टै केही हुन्छ हुन्छ सोच्छौँ , जब उ जान्छ लौ यो पनि केही नदिने खालको रैछ भन्छौँ नि ठ्याक्कै त्यस्तै पटक पटक आउछ गोरा नयाँ नयाँ लाग्छ । यस्तै हो यहाँका जनता लागी डा. सापको जिल्ला आगमन, हात्ति आयो हात्ति आयो फुस्सा ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक, नेपालको प्रजातन्त्र स्थापनाका लागी राजनैतिक नेतृत्व गरेका नेता तथा नेपाली तथा हिन्दी साहित्यका अब्बल साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) का तेस्रो पुत्र नेपाली कांग्रेसका महामन्त्री तथा लगातार तिन पटक सम्म नवलपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन माननीय प्रा.डा.शशांक कोइराला ।
वि.सं. २०१५ कार्तिक ८ गते मोरङको विराटनगरमा जन्मिएका शशांक कोइराला दुइ वर्षको उमेर हुदाँ नै राजा महेन्द्रले उनका पिता बीपी कोइरालाइ जेल पठाए ततपश्चात् बीपी कोइरालाको सहपरिवार नै भारतको बनारस गएर बस्न थाले । उनको पुरा बाल्यकाल भारतमा नै वित्यो भने एमविविएस् सम्मको अध्ययन पश्चात नेत्र विशेषज्ञतामा एम्डी सम्मको अध्ययन पुरा गरी नेपाल फर्किए र महाराजगञ्ज स्थित टिचिङ अस्पतार र बीपी कोइराला मेमोरिएल हस्पिटल धरानमा नेत्र रोग विशेषज्ञको रुपमा २० वर्ष सम्म काम गरेर सेवानिवृत्त भए । नेपाल फक्रिय पश्चात उनी २०४७ सालमा टिचिङ हस्पिटल बाट कांग्रेसको पेशागत संगठनको सदस्यको रुपमा प्राजातान्त्रिक अभियानमा संगलग्न भए । २०६३ सालमा प्रजातान्त्रिक अभियानमा जेल समेत परे । यसरी सुरु भएको उनको राजनीतिक यात्रा वि.सं. २०६४ सालको संविधान सभाको चुनावमा नवलपरासी क्षेत्र नं. १ मा नेपाली कांग्रेस बाट १४४३० मत प्राप्त गरि विजयी पश्चात शसक्त रुपमा राजनीतिक यात्रा सुरु भयो ।
विराटनगरमा जन्म भएका उनको परिवारका धेरै सदस्यहरु यहिबाट चुनावमा उठेता पनि नवलपुरमा कांग्रेसको पकड राम्रो भएको र कोइराला परिवारहरु चुनावि मैदानका खरो नेताहरु भएका कारण उनले यस क्षेत्रलाइ आफ्नो राजनीतिक यात्रा सुरु गर्ने उर्वर भूमिका रुपमा प्रयोग गरे । नवलपुरमा महेन्द्रध्वज जिसी , कृष्ण चन्द्र पोख्रेल जस्ता नेपाली कांग्रेसका हस्तीहरुले जग बलियो बनाएको क्षेत्र हो । यस कारण पनि उनलाइ चुनाव जित्न सजिलो भएको थियो ।
वि.सं. २०६४ , २०७० र २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा उनी विजय भएका थिए । उनी प्रतिनिधि सभाका सांसद भएपछी नेपालमा २०६५ सालमा गिरिजा प्रसाद कोइराला , २०७० सालमा शुशिल कोइराला , २०७४ सालमा शेर बहादुर देउवा ९४१ दिन अर्थात २.५८ वर्ष सम्म र २०७८ असार १३ गते देखी हालसम्म शेर बहादुर देउवाको प्रधानमन्त्री भइ नेपाली कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको छ ।
यसरी नेपालको राजनीतिमा प्रभावशालि व्यक्तिको रुपमा प्रभाव बनाउदै अघि बढेका नेपाली कांग्रेसको र नेपाल सरकारको नेतृत्व लिने सम्भावना बोकेका नेता कोइराला आफ्नो निर्वाचन क्षेत्रका जनताका माझ भने लोकप्रिय हुन् कहिल्यै सकेनन् जसको प्रमुख कारण भनेको नै उनले यहाँका जनताको माग संम्बोधन गर्न नसक्नु र विकास निर्माणका काम गर्न तत्परता नदेखाउनु हो ।
२०७२ सालको महाभुकम्पमा नवलपुरमा कैयौँ नागरिकले ज्यान गुमाए , सयौँको संख्यामा घरहरु भत्कीए जसमा उनले जनताको मन् छुने किसीमका कुनै योजना नै ल्याउन सकेनन् । कोरोना महामारीको समयमा समेत कानमा तेल हालेर राष्ट्रिय राजनीति र पार्टि नेतृत्वको खेलमा रुमलिरहे अत्याधिक विरोध पश्चात भने उनले केही स्वास्थ्य सामाग्री आफ्नो व्यक्तिगत खर्चमा उपलब्ध गराए जतिबेला आफु आउन लाज मानेर उनले सामाग्री समेत पठाएका थिए । उनै विजय भएको चुनावी क्षेत्र र नेपाली कांग्रेसका नगर सभापति तथा नगर प्रमुख समेत भएको देवचुली नगरपालिकामा नेपालमै पहिलोपटक कोरोना संक्रमित हुदाँ लैजाने एम्बुलेन्स नपाएर बिरामी छट्पटाएर ट्याक्टरमा लैजाने क्रममा एक व्यक्तिको मृत्यु भयो । अहिले बुटवल नारायणगढ सडक खण्ड यति बिजोग भएको यतिबेला उनले कहिल्यै पनि सडकका विषयमा कुरा नै गरेनन् । ६ महिना सम्म सडक सञ्जाल सँग सम्बन्ध विच्छेद हुने बुलिङ्गटार गाउपालिकाको समस्या समाधानमा कहिल्यै चासो नै देखाएनन् । आफुलाइ कुनै कार्यक्रममा जान परे उनि हेलिकप्टर प्रयोग गर्छन , अझै चुनावताका त हेलिकप्टरका आवाज सुन्दा बच्चा बच्चाले भन्ने गर्थे डा. साप आउनु भो । यस्ता समस्याहरु रहेको अवस्थामा नवलपुरका समस्याहरु महारजगञ्ज बसेर टुलुटुलु हेरी मात्र रहे ।
आकाशमा हवाइजहाज उडे, एउटा विश्वविद्यालय थियो १० विश्व विद्यालय बने, एउटा मेडिकल कलेज थियो अहिले १९ वटा मेडिकल कलेज स्थापना भएका छन् , २०४८ सालमा ८ हजार किलोमिटर बाटो थियो अहिले ८१ हजार किलोमिटर बाटो बनेको छ यो सब नेपाली कांग्रेसले गरेर भएको हो भनेका छन् । आउदो २ वर्षमा लोडसेडिङ हुदैन र भारत र चाइनामा विद्युत निर्यात गर्छौ, नवलपुरमा ट्रमा सेन्टर निर्माण गर्ने गर्छौ भन्ने कुरा हामीमाझ गर्छन् । २०६४ सालदेखी हालसम्म नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य रहेका कोइराला सधै जनतालाइ झुक्याइ मात्र रहे । यति ठुलो सपनाहरु देखाएका र उनले चाहेको खण्डमा नवलपुर देशकै नमुना जिल्लाको रुपमा विकसित हुन सक्थ्यो । उनि निर्वाचित भएपछि को सरकार र उनि प्रतिपक्षमा हुदा पनि उनलाइ नेपाली राजनीतिमा जुनसुकै पार्टिको सरकार आए पनि काम गर्नका लागी केही गाह्रो थिएन उनको कुरा नमान्ने र उनको योजनाहरुमा काम नगर्ने सायदै नेपालका नेता र पार्टि छन् ।
नेपाली कांग्रेको सरकार आए जनमत संग्रह गरेर हिन्दु राष्ट्र कायम गर्ने, नारायणी तिरैतिर तटबन्ध गर्दे देवघाट देखी त्रिवेणी सम्म पुग्ने बाटो बनाउने कुरालाइ बुटबल नारायणगढ सडक खण्डले गिज्याइरहेको छ भने बाटाका खाल्डाहरुले खुच्चिङ खुच्चिङ पारेका छन, अनि यो कुरा सुन्दा नवलपुरे जनता हास्न बाहेक केही गर्न सकिरहेका छैनन् । थुप्रै विकास निर्माणका कामहरु आफ्नो नेतृत्वमा सम्मपन्न भएको बताए पनि कहिल्यै पनि नवलपुरे जनताले उनले विकास गरे भनेर गर्व गर्ने काम नवलपुरमा एउटा छैन् । राष्ट्रिय गौरबका योजनाहरु छ्रदै छ्रनन् । उनले गरेका कामहरुबाट कोही नवलपुरे खुशि छन् भने ती हुन् प्रत्यक्ष रुपमा शशांक सँग बाट लाभ लिएका त्यो बाहेक यहाँका उनकै पार्टिका कार्यकर्ताहरु समेत खुशि छैनन् । २०७३ सालको नेपाली कांग्रेको १३ औँ महाधिवेसन बाट कोइराला नेपाली कांग्रेसका महामन्त्री भए । २०७८ मा हुन् लागेको १४ औँ महाधिवेसनमा उनी आफ्नो चुवावी क्षेत्र नवलपुरबाट पार्टि सभापतिको उमेद्वार बन्ने घोषणा समेत गरेका छन् । नेपाली कांग्रेसका सभापतिलाइ पाराजित गर्न मैले मात्र सक्छु भन्ने शशांकले नवलपुरको विकास गर्न सक्छु र मैले गर्छु कहिल्यै भन्न सकेनन् ।
नवलपुरमा विश्वविद्यालय स्थापना गर्ने कुरा गरिरहदाँ यहाँ सामान्य बालबालिकाहरु विद्यालय जान नपाएको कुरा कहिल्यै गरेनन् , ट्रमा सेन्टर बनाउछौँ भनिरहरदा नवलपुरका डाँडा पाखाका महिलाहरु प्रसव पिडामा छट्पटी हुदाँ अस्पताल पुग्न सकिरहेका छैनन् अझै एम्बुलेन्स जाने बाटो नै बनेको छैन् । युवाहरु रोजगारी नपाएर नेपालकै सबैभन्दा बढि वैदेशिक रोजगारीमा जाने जिल्ला बनिरहदा काठमाडौँमा आफ्नै घरको छतमा बसेर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका जहाजहरुलाइ हात हल्लाइ हल्लाइ विदाइ गरिरहेका छन् ।
शशांकले केही पनि काम नगरेका भने होइनन् उनल गरेका विकासका कामहरु भनेका सांसद विकास कोषको रकम बाट बोरिङ निर्माण, विभिन्न धार्मिक स्थलको संरक्षण, संघसस्थाहरुको भवन निर्माणमा सहयोग, केही बाटोहरुको स्थर उन्नति, कुलो निर्माण, केही खोलाहरुमा टतबन्धका काम गरे धेरैजसो काम उनका पार्टिका कार्यकर्तालाइ खुशि पार्ने खालका मात्र छन् ।
नवलपुरका जनताहरु अब शशांक बाट आजित भइसके भन्ने कुराको बलियो प्रमाण हो २०७४ सालमा भएको स्थानिय र प्रदेश सभाको निर्वाचन् , जसमा कांग्रेसको लालकिल्ला मानिने गैँडाकोट नगरपालिका जहाँको नगर प्रमुख सहित ८ वटा वडाहरुमा नेकपा एमाले विजय र एउटामा जनमोर्चाले जित हासील गर्न सफल भए , देवचुली नगरपालिकामा नगर उपप्रमुख सहित ६ वटा वडाहरुमा नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रले विजय हासिल गरे, बुलिङ्गटारमा भने उनको प्रभाव राम्रो देखियो र यहाँ कांग्रेसको लालकिल्ला प्रमाणित भयो त्यस्तै प्रदेश सभाको निर्वाचनमा समेत बाम गठबन्धन पश्चातका नेकपा एमालेका उमेद्वार रोशन गाहले जित हासील गर्न सफल भए । उनिसँग नवलपुरका जनता कति रुष्ट छन् भन्ने कुराको अर्काे बलियो उदाहरण हो २०७४ सालकै प्रतिनिधि सभाको निर्वाचन जहाँ ३६ हजार ६५२ मत प्राप्त गरेर विजयी भए । उनिसँग प्रतिस्पर्धामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनपछिका उमेद्वार माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका थिए । उनले जम्मा ४२४४ मतको अन्तरले मात्र जित्न सफल भएका थिए यदि भविश्वर पराजुली नवलपुरमा केही समय नेतृत्व गरेका र जनता माझ भिजेका नेता हुन्थे र विश्वमै उदाउदो रुपमा प्रस्तुत भइरहेका उद्योग पति माननीय विनोद चौधरी चुनाव प्रचारप्रसारमा नहिडका भए शशांक उहि बेला घुडा टेकीसकेका हुने थिए ।
काम गर्ने नै हो भने अझै पनि शशांक सँग आफ्नै पार्टिको सरकार छ, गण्डकी प्रदेशका मुख्यमन्त्रि उनकै पार्टिका छन् तर विडम्बना नै भन्नु पर्छ उनि आफ्नै पार्टि भित्रको राजनीतिमा रुमलीरहेर नवलपुरे जनताको बारेमा एकछिन सोच्ने फुर्सद पाएका छैनन् ।
नवलपुरकै निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सांसद तिलक महतलाइ देखेर शशांकलाइ भोट हालेका हातहरु आँसु पुश्छन् महत आफ्ना जनताको दुख सुखमा साथ दिन्छन् प्रत्येक पल जनताका माझ नै हुन्छन उनले कति विकास गरे गरेनन् भन्ने कुरामा उनकै निर्वाचन क्षेत्रका जनताले आगामी निर्वाचनमा देखाउलान् । उनको आफ्नो क्षेत्रप्रतिको क्रियासिलता देखेर बढो डाह लाग्छ यहाँका जनतालाइ संघियतामा गएको देशले अबको निर्वाचनमा आफ्नै क्षेत्रमा बसोवास गर्ने नेतालाइ उठाइ जिताउने खालका कुराहरु आफ्नै पार्टिका कार्यकर्ता र नवलपुरे जनताले गरिरहेका छन् । यदि अहिलेको यो सुनैलो अवसर पनि गुमाउने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रसले बीपी पुत्र, महामन्त्री भइससकेका र पार्टिमा योगदान गरेको आधारमा पार्टि सभापती त बनाउलान तर नवलपुरे जनता १५ वर्ष सम्म त झुक्कि सके अब भने झुक्किने देखिदैन् ।
आगामी स्थानिय , प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा मतदाताहरुलाइ खुशि पार्न सक्ने खालका यतिका वर्ष सम्म शशांकले गरेका कामहरु र अवको चुनावी घोषणा पत्र के देखाउने यहाँका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाइ लाज लाग्न थालिसक्यो, शशांक स्वयंम आफै र केही नेता तथा कार्यकर्ताले बताउन नै सक्दैनन् कि यि कामहरु भएका छन् यो हो फेरिस्ता र यिनि कामहरुले गर्दा यहाँका जनताहरु खुशि छन् । नेपाली कांग्रेसका चिन्तन गर्ने र जसले नवलपुर नेपाली कांग्रेसको लाल किल्ला बनाएका थिए उनिहरु चिन्तित छन् किनकी हामीहरु अब कसरी जनताको माझमा जाने र शशांक अन्यत्र बाट उठ्दै गर्दा हाम्रो हविगत के हुन्छ भन्ने कुरामा यहाँ बढो चिन्तित देखिन्छन् । स्थानिय तथा प्रदेश तहको निर्वाचनमा यसरी विभिन्न तबरबाट बढो गम्भिर ढंगबाट गुज्रिरहेको कांग्रेसको राजनीतिमा अब के हुन्छ भन्ने कुरामा साच्चिकै नेताहरुलाइ डर छ ।
नवलपुर कांग्रेस नवलपुरका प्रभावशाली नेता पूर्व सांसद तथा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी अहिले नवलपुरको १४ औँ महाधिवेसनमा जिल्ला सभापति हुने चर्चामा छन् । कांग्रेसको १४ औँ महाधिवेसनमा पार्टि सभापति हुने दौडमा भएका नेपाली कांग्रेसका प्रभावशालि नेता रामचन्द्र पौडेल निकट मानिने महेन्द्रध्वज जिसी बाहेक हालका नवलपुर जिल्लाका पार्टि सभापति विष्णु लामिछाने, मदनभक्त अधिकारी, गजेन्द्र आले मगर, बालकृष्ण घिमिरे लगाएतका नेताहरु पनि जिल्ला सभापतिको दौडमा देखिन्छन् यि सबै शशांक निकटका नेताहरु हुन् । देउवा पक्षको भने नवलपुरमा प्रभाव कम देखिन्छ, पछिल्लो समयमा सक्रिय राजनीति गरिरहेका उद्योगपति तथा प्रतिनिधि सभा सांसद विनोद चौधरीले अहिले नवलपुरमा आफ्नो प्रभाव बढाइरहेका छन् जसले गर्दा नवलपुर कांग्रेसको राजनीति बढो तरल अवस्थामा छ । यदि शशांक कोइरालालाइ पार्टि सभापतिमा रामचन्द्र पौडेलले सहयोग गरे भने नवलपुर जिल्लामा रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी पार्टि सभापति हुनेछने भने आगामी निर्वाचनमा समेत उनी प्रतिनिधि सभाको टिकट पाउन सक्ने र शशांक कोइराला विराटनगर बाट उठ्ने सम्भावना देखिन्छ उसो त महामन्त्रीले नवलपुरबाट उठ्ने घोषणा भने गरिसकेका छन् । यसरी शशांका कोइराला र शेरबहादुर देउवा विच पार्टि नेतृत्वको चुनाव हुने र शशांक कोइरालाले जित हासील गर्ने र नवलपुरमा महेन्द्रध्वज जिसीलाइ टिकट नदिने हो भने, शशांक कोइरालाले पटक पटक भन्दै आइरहेको कुरा कांग्रेस चुनावमा हार्ने भनेको पार्टि भित्रबाट नै अन्तरघात भएर हो भन्ने कुरा उनैमा लागू हुने पनि देखिन्छ ।
नवलपुर पहिल्यैदेखी कांग्रेसको लालकिल्लका रुपमा रहेको जिल्ला हो । बीपी पुत्रको ब्याज खादै चुनाव जितेका र पार्टिको महामन्त्री भएका कोइरालाले कहिल्यै पनि नवलपुरे जनतालाइ खुशी पार्न सकेनन् । जबजब जनताहरु पीडाले छटपटाउछन् राज्यले सहयोग गरोस् भन्ने चाहन्छन, घरपरिवारमा दुख पर्दा बुबाआमा सम्झे जस्तै समुदायलाइ दुख पर्दा आफुले भोट हालेर जिताएको नेता सझिन्छन् । नवलपुरमा जब समस्या आउछ यहाँका जनता बीपी सम्झन्छन् र सम्झन्छन् शशांक प्रत्येक नागरिकहरुले केलब नेता भनेर चिनेका छन् त शशांकलाइ चिनेका छन् एउटा छुट्टै किसीमको माया, सद्भाव र समर्पण छ शशांक कोइराला प्रति तर यो कुरा कहिल्यै बुझेनन, बुझ्न चाहेनन् या बुझ्न दिएनन् भन्ने कुरा बढो रहस्यमय छ । यसरी केही नगरि पटक पटक १५ वर्षसम्म बीपीको ब्याज खादै जनताको मतमा नाचेर नवलपुरे जनतालाइ विकास र समृद्धिको लाेप्पा खुवाइ रहे ।