राजनीति अर्थात व्यवस्था जुन समय सँगै परिवर्तन भइरहने सामाजिक विज्ञान हो । कुनै पनि व्यक्ति , परिवार , समुदाय र राष्ट्रको आवश्यकताहरुको व्यवस्थित ढंगबाट परिपुर्ति गर्दे अघि बढ्ने काम नै राजनीति हो । राजनीति नितिहरुको राजा हो जसले शासन व्यवस्थालाइ कसरी अघि बढाउने भन्ने निर्धारण गर्दछ । कुनै पनि राज्यको भविष्यको कुराहरुलाइ आधारशीला मान्दै वर्तमानमा गरिने भविष्यको सकारात्मक परिवर्तन नै राजनीति हो । राजनीति गर्नेलाइ राजनेता भनिन्छ । मुलुक परिवर्तन गर्ने निति निर्माण गर्न राजनीतिले प्रमुख भुमिका खेल्दछ ।
नेपाल विश्वकै सबैभन्दा धेरै हिन्दु धर्माबलम्बिहरु रहेको मुलुक हो । नेपालको राजनीतिलाइ हिन्दु धर्मले ज्यादै ठुलो प्रभाव पार्ने गर्दछ । सनातन हिन्दु धर्ममा आधारित भएर पुरा भारतवर्षमा शासन व्यवस्था सञ्चालन हुने गदथ्यो । यसको उदाहरण स्वरुप हामीले चन्द्रगुप्त मौर्यलाइ हेर्न सक्छौँ जसले हिन्दु परम्परा अनुसार चाणक्य बाट शिक्षा लिएर धनानन्दलाइ घुडा टेकाउदै मगध सामराज्यलाइ आफ्नो हातमा लिन सफल भएका थिए । भगवान श्री कृष्णले समेत अर्जुनलाइ कुरुक्षेत्रको युद्धमा सहयोग गरे , त्यस्तै रामलाइ आदर्श पुरुष र सीतालाइ पतिवर्त महिलाको रुपमा चिनिने गरिन्छ । जनकपुरका राजा जनकको पुत्री सीतालाइ विवाह गरेका रामले रामराज्य स्थापना गरे तर सीता राज्यको स्थापना गरेनन् राजा जनकले पनि आफ्नै राज्य थियो । भगवानको पाला देखी नै कुरा काट्ने र चरित्र हत्या गर्ने चलन व्यप्त भएकै कारण सीता अग्निमा जल्नु पर्याे । यसरी नेपालममा हिन्दु धर्मको प्रभावमा राज्यहरु सञ्चालन हुदै आइरहेका थिए । विश्व इतिहास् हेर्दा पनि कहिल्यै पनि मुस्लिम , इसाइ लगाएतका धर्मबलम्बिहरुको राज्यमा राज्यको नेतृत्व महिलाले हातमा गन्न सकिने जतिले मात्र गरेको देखिन्छ । नेपालमा विभिन्न वंसको शासनकाल चल्यो वि.सं. २०६२÷०६३ को माओवादी जनआन्दोलन पछि राजतन्त्रको अन्त्य सँगै गणतन्त्रको स्थापना भयो । हिन्दु धर्मको सबैभन्दा ठुलो पर्व दशैँमा माता दर्गाको पुजा गरिन्छ भने तिहारमा लक्ष्मिको पुजा गरिन्छ । हाम्रो देशमा करिब ८० प्रतिशत हिन्दु धर्मावलम्बिहरु रहेका छन् सबैभन्दा बढि हामीले महिलालाइ नै पुज्ने गरिन्छ सम्मानको दृष्टिकोण बाट हेरीन्छ , इस्लाम धर्ममा पनि आमाको पैतालामुनी जन्नत(स्वर्ग) हुन्छ भनिन्छ, तर यो भनेको सधैभरी सम्मान गर्ने र पुजा गर्ने काम मात्र भयो कार्यकारी भूमिकामा महिलाहरु परापुर्वकाल देखी नै आउन सकेनन् ।
यसरी अहिलेसम्मकै इतिहास् हेर्दा महिलाहरुले राज्यसक्ता सञ्चालन गरेको देखिदैन । महिलाहरु कहिल्यै पनि राज्यको नेतृत्वमा पुगेनन् । आधा धर्ति ढाकेका महिलाहरुलाइ यसरी परापुर्व काल देखी नै पछि पारिदै आइएको छ । राजतन्त्रको समाप्ती सँगै अहिले हामी संघियताको अभ्यास गरिरहेका छौँ । विगतको लामो इतिहास हेर्दा पहिले भन्दा अहिले महिलाहरु नेतृत्वमा देखिन थालेका छन् तर यो पर्याप्त छैन् । हामीलाई पितृशत्ताले गाजेको छ । हाम्रो दिमागमा अझै पनि पुरुष प्रधान हो भन्ने कुराको ढलान छ र यसलाइ दिमागमा लिएर घुमिरहेका छौँ जब सम्म यो ढलान फुट्दैन महिलाहरु नेतृत्वमा आउन सक्दैनन् । अब महिलाहरुलाइ हामीले कार्यकारी नेतृत्वमा पुराउनु पर्दछ । सबै पुरुषहरुले हाम्रा पुर्खाले गरेको दमनको सावा व्याज सहित अब ऋण चुक्ता गर्दे महिलाहरुलाइ अघि बढाउने सोचको विकास हुनुपर्छ । महिलाहरुलाइ नेतृत्वमा ल्याउने भन्दैमा असक्षमलाइ ल्याउने भन्न खोजिएको होइन महिलाहरु पनि सक्षम छन् र उनिहरुलाइ अघि बढ्न साथ दिनु पर्दछ ।
केहि समय अघि देखि देशमा नेकपा एमाले , नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु भएको छ । जसको फलस्वरुप प्रत्येक पालिकाका अधिवेशनहरु सम्मपन्न भइसकेका छन् । तर ति पालिकाका नेतृत्वमा भने देशका ठुला तिनै वटा पार्टिमा महिलाको नेतृत्व औँलमा गन्न सक्ने गरि चयन भएका छन् । पालिका स्तरको अधिवेशनको संकेत के हो भने राष्ट्रिय राजनीतिमा पनि महिलाको सहभागिता मात्र ३३ प्रतिशत पुराउनका लागी मात्र महिलाहरुलाइ राखिएको छ । यसले अबको पाँच वर्ष सम्म महिलाहरुलाइ अघि बढ्नका लागी रोक्ने छ । महिला सहभागीताका चर्का भाषण गर्न नथाक्ने कम्युनिष्ट र कांग्रेसहरु कसैले पनि महिलालाइ नेतृत्व दिने कुरा व्यवहारमा भने लागू गर्ने सकेनन् । अब महिलाहरु अझै शसक्त भएर अघि नबढ्ने हो भने अब यि ठुला तिनै दलका क्षेत्र , जिल्ला , प्रदेश र केन्द्रिय कमिटीमा महिलाहरु आउन सक्दैनन् ।
अब महिलाहरुको रगत उम्लन जरुरी छ शिक्षित र क्षमता भएका महिलाहरु नेतृत्वमा आएर राजनीति गर्न जरुरी छ । जब सम्म महिलाहरुले नेपालको नेतृत्व गर्देनन् कार्यकारी भुमिकामा पुग्दैनन् तब सम्म नेपालको विकास सम्भव छैन् ।
अहिले वर्तमान् समयमा सबैभन्दा वढि महिलाको क्षमताको कुरा गर्दा गर्व गर्ने कुरा गर्दा हामी राष्ट्रपति विद्यादेवी भण्डारीको कुरा गर्दछौँ । नेपालको पहिलो महिला राष्ट्रपति भएको कुराको उदाहरण दिन्छौँ । तर हामी जती सम्मान गर्दछौँ उती नै अहिलेका मिडियाहरुले सम्माननीय राष्ट्रपतिको नकरात्मक कुराहरु सम्प्रेषण गर्ने गर्दछन्, जो अतिनै घटिया स्तरको हुने गर्दछ । महिलाहरु राजनीतिमा आउन नसक्नु र नआउनुको सबैभन्दा ठुलो कारण भनेको नै चरित्र हत्या गर्नु हो । कोही महिलाहरु कुनै ठाँउको नेतृत्व गरेर आफ्नो क्षमता , बुद्धि , विवेकले माथि पुगे पनि त्यसमा पुरुषसँगको लसपस भन्ने जतिको तुच्छ दर्जामा राख्ने गर्दछौँ । नेपालको सबैभन्दा बढि सम्मानको पदमा रहेको राष्ट्रपतिको समेत यति नराम्रा कुराहरु गर्दछौँ जसको कुनै लेखा जोखा नै छैन् । केपी शर्मा ओलि नेतृत्व नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) को सरकारमा हुदाँ उनले गरेका सबै कामहरुलाई प्रधानमन्त्री सँग जोडेर उनका विरुद्धमा नकारात्म कुराहरु फैलाइयो । हामीले कार्यकारी अधिकार प्रधानमन्त्रीलाइ प्रदान गर्ने व्यवस्था बनायौँ । राष्ट्रपतिको काम , कर्तव्य र अधिकारहरु सिमित गरियो जसको फलस्वरुप विद्यादेवी भण्डारीको चरित्र हत्या गर्ने प्रयत्न गरियो । कति सम्म भनियो भने राष्ट्रपति र पुर्व प्रधानमन्त्री ओलि विचमा नाजाएज सम्बन्ध छ , उनको खल्तिमा बस्छिन् , महिला नेतृहरु समेतले राष्ट्रपतिलाइ बालाकोट जाने सुझाव दिए । सामाजिक सञ्जालमा राष्ट्रपति विरुद्ध बोलिएका लेखिएका कुराहरु पढ्ने हो भने त्यहाँ भन्दा तल्लो स्तरको गाली, बेइजती र अपमान केही कुराको हुदै हुदैन् । राष्ट्रपती केपी शर्मा ओलिले चाहे अनुसार चल्ले भए वर्तमान प्रधान्मन्त्री शेर बहादुर देउवाले पेश गरेका अध्यादेशहरु जारी नहुने थिए होलान् नी होइन् ? यस कुरा बाट चुरो कुरा के बुझ्न जरुरी छ भने राष्ट्रपतिमा जो भएपनि सरकारको निर्णयलाइ मान्नु पर्ने बाध्यता छ । महिलालाइ यसरी नियमहरुले बाँधेर राखेर विकास खोज्नु मुर्खता मात्र हुने छ । यति भन्दै गर्दा राष्ट्रपति सँग अधिकार छैन् केही गर्न नसक्ने भन्ने पनि होइन आफ्नै किसीमका काम , कर्तव्य र अधिकार छन् । हामी सकारात्म भएर सोच्न जरुरी छ । राष्ट्रपतिको सबैभन्दा बढि आलोचना भएको उनले प्रयोग गरेका सेवा सुविधा , हेलिकप्टर , गाडी , राष्ट्रपति निवासमा गलौचा , भवनको सुविधाहरु हुन् । यी कुराहरु उनी राष्ट्रपतिको अवधि सकिए पछि घर लगेर राख्ने होइन् सबै कुरा राज्यको सम्पति हो । हामी नेपाली अतिथि सत्कारलाइ बढो गम्भिर र महत्वपुर्ण रुपमा लिन्छौँ , घरमा पाउदा आउदा मिठो भोजन पकाएर खुवाउछौँ , घर चिरिच्याट्ट पार्दछौँ यस्तै हो राष्ट्रपतिले अहिले खर्च गरेका सुविधाका क्षेत्र यसलाइ नकरात्म रुपमा लिनु हुदैन् । नेपाल विकासोन्मुख देश भएको र यहाँ केही थोरै कुरा गर्दा पनि धेरै लाग्ने भएर मात्र यस्तो भएको हो । राष्ट्रपतिले पनि घाँटि हेरेर हाड निल्न भने जरुरी छ । यसरी महिलाहरुलाइ नेतृत्वमा आउदा घाँस नदिइ बाँधेको भैसी बाट दुध आश गर्ने गरि हैन अधिकार सम्पन्न कार्यकारी पदमा पुग्नुपर्दछ र महिलला नेतृहरुको चरित्र हत्या गर्नुहुदैन् । हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ जतिसुकै ठुलो सुँड भएपनि हात्तिले दाह्रा अर्थात देखाउने दाँतले चपाउन कहाँ सक्छ र ?
महिलाहरुलाइ नेतृत्वमा आउन बाधक तत्व भनेको चुलो चौको बाट मुक्त हुन नसक्नु हो । बालबच्चा हुर्काउने जिम्बेवारी महिलाको मात्र नभएर महिला पुरुष दुवैको बराबरी हो भन्ने कुरालाइ ध्यान दिएर सँगै भएर बालबाच्चालाइ समय दिनु पर्दछ र हुर्काउनु पर्छ । राजनीति गर्ने अधिकांस महिला तथा पुरुषको घरपरिवार हेर्ने हो भने आफ्नै घरपरिवार पनि मिलाउन र छोराछोरीलाइ पर्याप्त समय दिन नसकी ज्यादै ठुलो समस्याबाट घरपरिवार चलेको देखिन्छ । यदि घरपरिवार र छोराछोरी बिग्रेको खण्डमा सबै अबजस महिलाको काधमा थुप्रने गर्दछ यो कुराको समेत अन्त्य हुन् जरुरी छ । विवाह गर्दा पहिले नै सबै कुराहरु बुझेर आफ्नो उदेश्य अनुसारको जिवन साथीको छनोट गर्न सक्नुपर्दछ । अबको समयमा पुरुष महिला दुवै मिलेर घरको सुसारे धन्दा गर्नुपर्छ । राजनीति , जागिर , व्यवसाए जे सुकै गरेपनि महिलाहरु अन्तिममा गएर घरको काम गर्नुपर्छ । यसले गर्दा महिलाहरु थप जिम्मेबारी र बोझले थिचिइरहेका हुन्छन् । यस्ता कुराहरुलाइ घरपरिवार सबै मिलेर बाँडेर गर्दे महिलाहरु अघि बढ्न जरुरी छ । घरको सबै काम बुहारीले गर्नुपर्छ भन्ने सोचाइलाइ हटाउनु पर्दछ । देशमा कुनै नेताहरु जन्मिन्नथे होला यदि महिलाहरुले साथ नदिने हो भने । कुनै पनि पुरुषले यदि म महिला विना राजनीति गर्छु भन्ने घमण्ड गर्छ भने त्यो सम्भव छैन र दिवा सपना मात्र हुने छ ।
अझै पनि हाम्रो पुरुष प्रधान समाजमा महिलाहरुको क्षमतालाइ शंकाको दृष्टिबाट हेर्ने गरिन्छ , महिलाहरु पनि आफ्नो क्षमतालाइ प्रस्फुटन गर्ने अवसरका कमिका कारणले गर्दा आफै पनि सक्षम छु भनेर विश्वास गर्न सकिरहेको छैनन् । अबका दिनहरुमा महिलाहरुलाइ अघि बढ्नका निम्ति लगानी बढाउन जरुरी छ । महिलाहरुलाइ शिक्षामा विशेष किसीमका प्याकेजहरु ल्याएर रुपान्तरणमा लाग्नुपर्दछ । हामीले अहिले पनि महिलाहरु सजाएर राख्ने खालका पदहरुमा मात्र देख्न सकिन्छ । नेपाल सरकारले ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने प्रावधान राखेको छ । तर यी पदहरुमा राख्नका लागी मात्र राखेजस्तो राखिएको छ , कोही पनि पुरुष महिलाले नेतृत्व गरेको ठाँउमा बस्न नरुचाउने प्रवृत्ति हटाउनु पर्दछ जसका लागी नविनतम र सकारात्मक सोच भएका युवाहरु राजनीतिमा आउन आवश्यक छ । हामीसँग अहिले तिन तहको सरकार छ , स्थानीय सरकारमा समेत महिलाहरु वडामा अनिवार्य रुपमा २ जना हुनुपर्ने भएका कारण निर्वाचित भएका छन् अब कम्तिमा पनि प्रत्येक पालिकामा ५० प्रतिशत महिला वडा अध्यक्षको व्यवस्था गर्नका लागी विभिन्न राजनैतिक दलको विधान बन्नु पर्छ , पालिकाको उपप्रमख , उपाध्यक्ष पदमा महिलाहरु देख्न सक्छौँ यसरी हेर्दा पदका लागी मात्र राखेको देखिन्छ । प्रदेश र संघिय सरकारको पनि ताल उस्तै छ । अब महिला प्रधानमन्त्री बन्नु पर्छ र यसका लागी सबैले सहयोग गर्नुपर्छ लगानी बढाउनुपर्दछ ।
सामाजिक सञ्जालहरुको प्रयोगमा रमाउने बानीको विकास भइरहेको वर्तमान् परिवेश ज्यादै घातक सावित हुन सक्छ अहिलेका युवा पुस्ताहरु , बालबालिका , युवा तथा बृद्धहरु समेत फेसबुक , इस्टाग्राम , टिकटक लगाएतका कुराहरुमा ज्यादै धेरै समय खेर फालिरहेका छन् । जहाँ आवश्यकता भन्दा बाहिरको भर्चुअल दुनियाँमा रमाउने प्रबृत्ति वढिरहेको छ जसले कसरी हुन्छ यस्ता सामाजिक सञ्जालहरुमा भाइरल हुने भन्ने दौडमा देखिदा यसको कालान्तरमा नकरात्मक असर पर्ने देखिन्छ । भिडियो बनाउनका लागी नै पुलमा झुण्डिएर , सेती नदिमा खसेर मृत्यु भएको खबरहरु हामी देख्न सक्दछौँ । तसर्थ यस्ता कुराहरुमा धेरै भुलेर बस्नु पनि राम्रो हुदैन सामाजिक सञ्जालमा पनि राम्रा खालका सिक्ने कुराहरु हुन्छन् सकारात्मक कुराहरु सिक्न सकियो भने यहाँबाट धेरै कुराहरु बुझ्न सकिन्छ । महिलाहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्ना विचारहरु बाहिर ल्याउन जरुरी छ भने देशमा भएका मिडियाहरुले महिलालाइ अवसर प्रदान गर्नुपर्छ ।
महिलाहरुलाइ सधै उनिहरुको रुपको पछि कुद्न लागी प्रेरित गरिने बानीको विकास भइरहेको छ । कालो र गोरो छालाको आधारमा राम्रो नराम्रो भन्ने छुट्टाउने कुरा मेटिनु पर्छ । अझै अहिले त विभिन्न खालका मिस एस.इ.इ , मिस नगरपालिका , मिस यो जाती , मिस नेपाल , मिस वल्र्ड जस्ता ताजहरु परिराइन्छ र विभिन्न खालका कस्मेटिक ब्राण्डहरु , विज्ञापनका ब्राण्डहरुमा महिलाहरु प्रयोग भइरहेका छन् े महिलाहरु सजावटका साधन हुन् भन्ने कुरालाइ यस्ता खालका कुराहरुले प्रोत्साहित गरिरहन्छन् हुनत यस्ता क्रियाकलापबाट महिलाको क्षमता विकास त हुन्छ तर त्यसको ठोस उपलब्धि भएको कुरा भने खोजेर भेट्न समेत गाह्रो भएको छ कहि कतै भने यसले सकारात्म स्वरुप समेत प्रदान गरेको कुरा देख्न सकिन्छ । महिलाहरुलाइ विज्ञापनको साधनको रुपमा मात्र प्रयोग गर्ने कुरामा सहि होइन् भन्ने चेत खुल्नु पर्दछ । यस्ता कुराहरु सामान्य लागेता पनि ठुलो प्रभाव पारिरहन्छन् तसर्थ गम्भिर चिन्तन गर्नु पर्छ ।
अहिले सेनेटरी प्याडको करको विषयमा व्यापाक विरोध भइरहेको छ । यस्ता कुराहरुले नै के पुष्टि गर्छ भने महिलाहरु प्रत्येक महिना हुने महिनावारीको समयमा राज्यले केही सहायता गर्नुको सट्टामा झनै कर बढाउने कुरा ज्यादै दुखद हो । यो हुनको प्रमुख कारण के त भन्दा महिलाहरु निती निर्माण गर्ने तहमा शुन्य छन् र पुरुषले महिलाका भावना बुझ्न र समानुभूती गर्न सक्दैन् । यस्ता किसीमका स्वास्थ्य सामाग्रीहरुमा कर छुट हुनुपर्दछ भने राज्यले नै सेनेटरी प्याड उत्पादन गर्ने तथा अनुदान उपलब्ध गराउने साथै विद्यालय तथा कलेजहरुमा निशुल्क रुपमा वितरण गर्ने व्यवस्था मिलाउन पनि जरुरी छ । हामीले सानो सोच्ने कुराहरुले ठुलो रुपमा महिलाहरुलाइ अघि बढ्नका लागी पनि सहयगोग पुग्दछ ।
वर्तमान् राजनैतिक परिवेश हेर्दा विगतमा अपराध गरेका अपराधी , भ्रष्टाचारी , काण्ड मच्चाउनेहरु , गुण्डा , डनहरु राजनीतिमा छाइरहेका छन् । जसले गर्दा सामान्य महिलाहरु यस्ता किसीमका व्यक्तिहरु सँग सहकार्य गर्दे अघि बढ्नका लागी ज्यादै कठिनाइ हुने गर्दछ । जुन सकारात्म चिन्तन र परिवर्तन चाहने पुरुषहरुका लागी समेत बढो चिन्ताको विषय हो । सचेत नागरिकहरुले निर्वाचनमा यस्ता गलत मानिसहरुलाइ नजिताउने हो भने विस्तारै खराब व्यक्तिहरु राजनीतिमा आउन सक्दैनन् तसर्थ असल र विकास प्रेमी नेताहरु चुन्न जरुरी छ । अबको राजनीतिमा सक्षम तथा असल युवाहरु हावी हुन् सकेको खण्डमा महिलाहरु अघि बढ्न सक्ने कुरामा दुइमत छैन् ।
१० भनेको १२ र १२ भनेको २ बजे हो भन्ने परम्पराले गर्दा पनि महिलाहरुलाइ राजनीतिमा आउन गाह्रो भएको छ । समय व्यवस्थापन गर्न नसक्नु नेपाली नेताहरुको सबैभन्दा ठुलो कमजोरी हो । यो कुराले सक्षम र आफ्नो पेशा तथा व्यवसाय गर्ने सबल र सक्षम महिलाहरु राजनीतिमा आउन सकिरहेका छैनन् उनिहरु यसरी बेकारमा समय खर्च गरेर कुरेर बस्दैनन् । अबका दिनहरुमा समय व्यवस्थापन र भनेकै समयमा बैठक तथा कार्यक्रमहरु सञ्चालन हुन सक्ने हो भने महिलाहरु नेतृत्वमा आउनेको शंख्या बढ्ने छ ।
२०७४ सालको प्रतिनिधि सभा र राष्ट्रिय सभामाको निर्वाचनमा संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणाली बाट ६ जना र समानुपातिक निर्वाचन प्रणाली बाट ८४ जना गरी जम्मा ९० जना महिला सदस्यहरुको प्रतिनिधित्व रहेको छ , यो ३२.७३ प्रतिशत हो भने राष्ट्रिय सभामा ५९ सदस्यीय राष्ट्रिय सभामा २२ जना महिला सदस्यहरुको सहभागिता रहेको पाइन्छ । प्रतिशतको हिसाबले यो सहभागिता ३७.२९ प्रतिशत हुन आउँछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी जम्मा ११२ जना महिला सदस्यहरुको संघीय संसदमा प्रतिनिधित्व रहेको पाइन्छ । यसरी संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ३३.५३ प्रतिशत रहेको छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने महिलाहरु अझै पनि प्रत्यक्ष निर्वाचन प्रणालिबाट निर्वाचित भएका छैनन् र पुरुषहरु महिलाबाट शासित हुन् चाहदैनन् । अब यो धारणा बदल्न जरुरी छ ।
राजनीति गर्न र चुनाव जित्नका लागी धेरै पैसा खर्च गर्नुपर्ने वर्तमान् समयको बाध्यता जस्तो बनेको छ । धनि र पैसा हुनेहरु नै राजनीतिमा टिक्न सक्दछन् । कम्यूनिष्ट पार्टिका प्रचण्ड समेत वडा सदस्य लड्न लाखौ र मेयर , प्रदेश तथा प्रतिनिधि सभामा उठ्नका लागि करोडौँ खर्च गर्नुेपर्ने बाध्यता छ भन्ने विषयमा खुलेर बोल्न थालेका छन् । पैसा खर्च गर्नुपर्ने गरी राजनीति गर्ने सस्कारका कारण नै देशमा भ्रष्टाचार बढेको छ । यदि संस्कार युक्त राजनैतिक परिपाटिको विकास हुने हो भने भ्रष्टाचार कम हुन्छ र महिलाहरु राजनीतिमा आउन सक्दछन् । अहिलेसम्म कहिल्यै पनि कहिकतै कुनै महिलाहरुले भ्रष्टाचार गरेको सुनिएको छैन् यसको मतलब यदि महिलाहरु नेतृत्वमा पुगेको खण्डमा भ्रष्टाचार समेत घट्ने कुरामा दुइ मत छैन् ।
राजनीतिक भेटघाट र चिया गफमा महिलाहरु आफ्नो सहभागीता बढाउन सकिरहेका छैनन् यसले गर्दा पनि राजनीतिमा आउन समस्या भइरहेको छ । पुरुषहरु जति बेला पनि जहाँ पनि जान सक्ने अवस्था छ तर महिलाहरु साझ परेपछि घरबाट निस्कदा उसको चरित्रमा प्रश्न उठाइन्छ भने राज्यले सुरक्षा समेत दिन सकिरहेको छैन् महिलाहरु अझै पनि साझमा एक्ले हिड्न सक्दैनन् दुव्र्यवहार र बलात्तकारको शिकार समेत हुने घटनाले महिलाहरु घरबाट हिड्ने चिया गफमा सामेल हुन् सकिरहेका छैनन् । महिलाहरु स्वतन्त्र भएर हिड्न सक्ने र निडर भएर अघि बढ्नका लागी राज्यले कार्यक्रमहरु ल्याउन जरुरी छ ।
यसरी विभिन्न तवरबाट महिलाहरुको नेतृत्व क्षमताको विकास , लगानीमा बृद्धि, सक्षम महिलाहरु अघि बढ्ने र काम गर्ने हो भने पक्कै पनि देशमा केही वर्षमा नै आमुल परिवर्तन हुने छ । यो देश विकास हुन्छ भने महिलाबाट नै हुन्छ किनभने हामीले यति लामो इतिहास् हेर्दा कहिल्यै पनि महिलाहरु कार्यकारी भुमिकामा रहेको देखेनौ यदि महिलाहरु नेतृतवमा आए भने देशले नयाँ नक्सा कोर्ने छ । जसका लागी पुरुषहरुले साथ दिएर अघि बढ्नु पर्छ भने महिलाहरुमा देश परिवर्तनको गर्ने सोचको आगो दन्कीनु पर्दछ ।
हाम्रो छिमेकी देश बंगलादेशको प्रधानमन्त्री शेख हसीन , भारतका पुर्व प्रधानमन्त्री इन्धिरा गान्धीले देश हाक्न सक्छन् भने नेपाली महिलाहरुले पनि सक्छन् । यसका लागी महिलाहरु तयार हुनु पर्दछ म गर्न सक्छु भन्ने आत्मविस्वास र आत्मबल लिएर मैदानमा उत्रिएको खण्डमा यो परिवर्तन सम्भव छ र महिलाहरुले चाहेको खण्डमा देवी हुन् सक्छन् भने काली पनि हुन् सक्छन् । अब यो देशको पुरै शासन व्यवस्था महिलाहरुको हातमा ल्याउछु भन्ने अदम्य शाहस र हौसला बोकेर सकरात्मक सोचका साथ मुठ्ठी कसेर अघि बढ्नुपर्ने बेला आएको छ । सधैभरी दयाको पात्र र समानुपातिक सांसद होइन प्रत्यक्ष निर्वाचन प्रणाली बाट अघि आउछु भन्ने हिम्मत देखाउने बेला पनि यहि हो । यदि दुरदर्शी सोच भएर र केही गर्ने दृढ संकल्प लिएर कोही महिला राजनीतिमा आउछ भने पुरै पृत्री सत्ता ढल्नेछ र देशले बात्सल्य प्रेमपुर्वक विकास र समृद्धि पाउन सक्दछ । तसर्थ अब विकास र समृद्धिका लागी महिला नेतृत्वको ठुलो खाँचो छ ।