
डा. शिवराज न्यौपाने, नवलपुर ।
कुरा २०७६ सालको हो । मेरो गृहजिल्ला नवलपरासी पूर्व, हप्सेकोट गाउँपालिका भएतापनि म नवलपरासी पश्चिम पृथ्वीचन्द्र जिल्ला अस्पतालमा कार्यरत थिएँ । एच आई भि एड्स सँग सम्बन्धित CMT तालिम प्राप्त म त्यस अस्पतालमा एचआईभि एड्स Art सेन्टरको फोकल पर्सन भई काम गरेको थिए । दिनहुँ कम्तिमा १०–१५ जना HIV संक्रमित विरामीको चेकजाँच र परामर्शमा व्यस्त हुन्थेँ ।

एकदिन एकजना विरामीमा मेरो ध्यान केन्द्रित भयो । उहाँ अर्को जिल्ला ( मेरो गृह जिल्ला ) बाट औषधि सेवन गर्नुहुन्थ्यो । उहाँलाई चेकजाँच गर्दैगर्दा धेरै नजिकबाट कुरा गर्ने प्रयास गरेँ। उहाँ त मेरो छिमेकी गाउँबाट हुनुहुदो रहेछ । म प्राय आफ्नो क्लाइन्टलाई आफ्नो परिचय राम्रोसँग दिन्थेँ तर यसबेला मैले आफ्नो घर यो ठाउँमा भन्न सकस भयो । अनि मै प्रश्न त्यर्साउन थालेँ । तपाईलाई पिसाबको समस्या रहेछ यत्तिको उपचारका लागि त्यति टाढाबाट अर्को जिल्लाको जिल्ला अस्पताल किन आउनुभयो ? यति सोध्दै गर्दा आफुमा भएको समाजको डर,त्रास उहाँले पोख्न थाल्नुभयो ।
छरछिमेकमा १५ वर्षदेखि आफ्नो रोगका बारेमा कसैलाई थाह नदिईकनै बस्न बाध्य उहाँ आफ्नै गाउँठाउँमा उपचार खोज्दा कहिँकतै आफ्नो रोगको बारेमा समाजलाई थाहा भयो भने आफू अपहेलित हुनुपर्ने त हैन भन्ने त्रासले बसिरहनुभएको रहेछ । पिसाबको समस्या १२–१५ दिनसम्म सहेपनि अब सहन नसक्ने भएपछि हामीकहाँ आईपुग्नुभएछ ।
यसबाट मलाई बढो नमज्जा लाग्यो । वहाँको मनमा खड्किएको समाजप्रतिको वितृष्णा मैले उहाँको अनुहारमा एकएक पढिरहेको थिएँ । मैले न त तपाई मेरो छिमेकी गाउको हुनुहुदोरहेछ भन्न सके न त आफूलाई चिनाउन सकेँ । वहाँ जुन हिसाबले मसँग खुलेर बोल्दै हुनुहुन्थ्यो ! त्यसमा झुट्ट ब्रेक लाग्नेवाला थियो । म वहाँलाई ढाडस दिदै भने “चिन्ता नगर्नुस, परिवर्तनलाई समय लाग्छ तर त्यसो भन्दैमा तपाई पनि आफ्नो अधिकार खोज्न सकेसम्म आफ्नो पहिचान नलुकाई , लड़्ने वातावरण सिर्जना गर्न अगाडी बद्नुपर्छ हामी साथ त दिन्छौं नै ।”
समाजमा विविधतासँगै विभेद पनि हावी छन् । कहिले जातिय त कहिले लैंङ्गिक । कहिले आर्थिक त कहिले भौगोलिक । विभेद कुनै हिसाबले राम्रो मानिदैन तर विरामी पनि विभेद र अपहेलनामा पर्नुपर्यो भने त्यो जति दयनीय अवस्था केही हुँदैन किनकी एकातिरबाट उसलाई रोगले गालेको हुन्छ भने अर्कोतिर समाजले ।
यसकारण समाजमा यो कुरा प्रष्ट हुनु जरुरी छ कि HIV⁄AIDS पनि अब सुगर र प्रेसर जस्तै रोग भईसकेको छ । नियमित समयमा उचित औषधीको सेवनले यसलाई नियन्त्रण गर्न सकिन्छ रोग लाग्न नदिनु राम्रो कुरा हो, समयमै सावधानी अपनाउनु जरुरी त छदै छ, तर रोग लागेपछि उपचार पाउनु विरामीको अधिकार हो भने उपचारका साथसाथै स्वस्थ वातावरण सिर्जना गराउनु तपाई हाम्रै कर्तव्य हो ।
यसर्थ डिसेम्बर ०१ विश्व एच आई भि⁄एड्स दिवस भव्य रूपले मनाउँदै End inequalities, End Aids भन्ने नारालाई सफल पारौँ ।