
भिम भुसाल, देवचुली ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको गरिब पहिचान शाखाले गरिब पहिचान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । विभिन्न जिल्लामा स्थानीय तहमार्फत् तथ्यांक संकलन गर्ने कामलाई अगाडी बढाउन लागिएको छ। सोहि क्रममा देवचुली नगरपालिकामा समेत गणक र सुपरिवेक्षकको नियुक्ति गरी तथ्यांक संकलन गर्नको लागि आवश्यक तालिम समेत प्रदान गरिसकेको छ । तथ्यांक संकलनका लागि
देवचुलीमा ८ जना गणक र १ सुपरिवेक्षक रहेको सूचना प्रविधि अधिकृत कृष्णहरी सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुशार गणकको कार्यक्षेत्र समेत छुट्टाईसकिएको छ । देवचुली वडा नम्बर १२ र १३ मा अर्मान मिया, वडा नम्बर १०,१४ र १५ मा मुना पाठक, वडा नम्बर १७ मा सरोज अर्याल, वडा नम्बर ८,९ र ११ मा अस्मी अधिकारी, वडा नम्बर ३,४ र ५ मा पद्मा पौडेल, ६ र ७ मा आदर्श भण्डारी, १ र २ मा सुनिल पाण्डे , वडा नम्बर १६ मा संदीप पाण्डे रहेका छन् ।
परिवारको संख्या, शैक्षिक तथा रोजगारीको अवस्था, आम्दानीको स्रोत, आश्रित व्यक्तिहरूको संख्या, घरको भौतिक अवस्था, पिउने पानी, शौचालय, इन्धन लगायतका सुविधा र समग्र अनुमानित आम्दानीका आधारमा मापदण्ड निर्धारण गरी गरिब परिवार र गरीबीको प्रकार पहिचान गर्ने व्यवस्था गरिएको छ । संकलित तथ्यांक विश्लेषणका आधारमा अतिगरीब, मध्यम गरीब र सामान्य गरिबको सूची प्रकाशन गरिनेछ ।
यस कार्यक्रममा देशभित्र रहेका नेपालीहरुलाई मात्रै समेटिँदै आएको र गरिब पहिचानपत्र पाएपछि पत्रवाहकले निःशुल्क स्वास्थ्य बीमा, छात्रवृत्तिलगायतका सुविधा पाउने बताइएको छ । राज्यबाट प्राप्त हुने अन्य सुविधाहरु थप गर्न सकेमा यस कार्यक्रमको महत्व अझ बढ्ने छ ।