नवलपुर ।
नवलपुरको कावासोतीमा एक अटो चालकको शंकास्पद मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नंं १३ गैरीस्थित एक पोखरीको तालमा हत्या गरेर फालिएको प्रकृतिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार आज मंलवार बिहान ८ बजेर १० मिनेटको समयमा स्थानीयले वेवारिसे अवस्थामा अटो रिक्सा र जुत्ता, मोवाइल तथा कागजपत्र लगायतका सामग्री छरिएको अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि एसपी प्रज्वल महर्जनको नेतृत्वमै प्रहरी घटनास्थलमा पुगेको थियो ।
अनुसन्धान र खोजतलास गर्दै जाँदा अटो राकिएको स्थानदेखि करीव २ सय मिटर पर पोखरीको पानीमा जलकुम्भी पानी झारले ढाकिएको अवस्थामा सोही अटो मालिक समेत रहेका चालक ५३ बर्षीय स्थानीय माधव प्रसाद गिरीको शव फेला परेको प्रहरीले जनाएको हो ।
घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी गिरीले बताए ।