भिम भुसाल, देवचुली ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन देवचुलीले दलदले–कुम्सोत सडक मर्मतको माग गर्दै देवचुली नगरपालिकामा ध्यानाकर्षण गराएको छ । विहिवार नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठलाई दलदलेदेखी कुम्सोत सम्मको सडक जिर्ण रहेकाले तत्काल मर्मत गर्नुपर्ने माग सहित अनेरास्बियु देवचुलीले ध्यानाकर्षण गराएको हो ।
अनेरास्बियु देवचुलीका अध्यक्ष शिशिर गैरे र सचिव सुजन भुसालद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षणमा नगरपालिकाकै व्यस्त सडकखण्ड लामो समयदेखी मृत्युको शंखघोस गरिरहदा नगरपालिकाको मौनता ज्यादै लाजमर्दौ र चरम लापरवाहीको पराकाष्ठ भएको दाबी गरिएको छ ।
अत्याधिक सवारी चाप रहने उक्त सडकखण्डमा खाल्डाखुल्डि पुर्ने र पहिरो गएको स्थानमा तत्काल मर्मत संभारको काम शुरु गर्न ध्यानाकर्षण गराएको छ । नगरभित्रका अन्य सडक समेत जिर्ण रहेको भन्दै मर्मत गर्नुपर्ने स्थानहरुमा तत्काल मर्मतको लागि आग्रह गरेको छ । यदि मागलाई वेवास्ता गरेको खण्डमा समेत अनेरास्बियु देवचुलीले चरणबद्ध आन्दोलन घोषणा गर्ने जनाएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले ध्यानाकर्षणको लागि अनेरास्बियु देवचुलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । दलदले–कुम्सोत सडक ठेकेदारलाई जिम्मा दिईसकिएको र सम्झौता पत्र अनुशार काम गर्न दबाव समेत दिईरहेको मेयर श्रेष्ठले बताउनुभयो । सडकमा रहेको खाल्डा पुर्न समेत १५ लाख रुपैया विनियोजन गरि काम भैरहेको र मुण्डे भन्दा उत्तर तर्फको सडक मर्मतलाई गण्डकी प्रदेशबाट ५० लाख रुपैँया परेको जानकारी दिनुभयो । उपभोक्ता समिती मार्फत उक्त क्षेत्रको समेत काम अघि बढेको बताउनुभयो ।
साथै मेयर श्रेष्ठले सडक छेउछाउमा राखिएको निमार्ण सामाग्री ब्यवस्थापन गर्न समेत युवा जमात र स्थानियले सहयोग गरिदिन आग्रह गर्नुभयो ।