भिम भुसाल, देवचुली ।
पुर्बी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ५ ले वडा भित्रका बिपन्न दलित समुदायलाई सहारा दिदै आएको छ । आज बिहिवार वडा ५ का वडा अध्यक्ष शिवलाल सापकोटाको अध्यक्षतामा दलित समुदायहरुका लागि सम्मानको कार्यक्रम राख्दै सहारा दिएको हो ।
कार्यालयले वडा भित्र रहेका ५६ परिवारका अति बिपन्न सदस्यलाई प्रती परिवार एक थानका दरले कम्बल वितरण गरेको छ । वडागत बजेट अन्तर्गत ८० हजार रुपैयाँको कम्बल बिपन्न परिवारलाई वितरण गरिएको वडा ५ का अध्यक्ष सापकोटाले बताउनुभयो । करिव ६५ दलित परिवार रहेको वडामा आर्थिक रुपमा सबल रहेको घरपरिवारले भने सहयोग ग्रहण नगरी बिपन्न परिवारलाई कम्बल प्रदान गर्न वडालाई सहयोग गरेको प्रती अध्यक्ष सापकोटाले धन्यवाद व्यक्त गर्नुभयो । दलित तथा बिपन्न परिवारलाई बिगत समयदेखि नै विभिन्न किसिमका सहयोग उपलब्ध गराउदै आएको सापकोटाले जानकारी दिनुभयो । आगामी दिनमा समेत हरेक टोल लक्षित कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।
खान बस्न समेत समस्या भोगिरहेका बिपन्न गरिव परिवारलाई आर्थिक अर्थोपार्जन हुने किसिमले कृषि सम्बन्धि ब्यवसायिक तालिमको समेत ब्यवस्था गराईदिन दलित एकता समूहका अध्यक्ष भिम बहादुर बिकले आग्रह गर्नुभयो ।सहयोग प्राप्त गरेको परिवारले भने अन्य बर्षमा समेत प्रयोग गर्न सकिने गरि वडाले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् । चिसोले जनजीवन प्रभावित परिरहेको समयमा स्थानीय सरकार सहारा भनेको भन्दै स्थानीयले खुशी व्यक्त गरे ।