
नवलपुर ।
सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिदा नवलपुरका ३ कैदिले समेत सजाय मिनाहा पाएका छन् ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४) लागू हुनुपूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छूट दिइएको हो ।
चितवन कारागारमा रहेका ११ कैदीले पनि सजाय मिनाहा पाउदा नवलपुरका ३ कैदिले समेत छुट पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्दाका पाँच (नवलपुरका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्दाका दुई (चितवन र मकवानपुरका एक-एक) जना रहेका छन् ।

त्यसैगरी, बहुविवाह मुद्दामा नवलपुरका एक, वन पैदावार चोरीनिकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दाका दुई (गोर्खा र धादिङका एक-एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।
यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरूष कैदीबन्दी रहेका छन् ।