नवलपुर ।
बुटवल नारायणगढ सडक विस्तारअन्तर्गत नवलपुर क्षेत्रको काम अलपत्र परेको छ । अधिकांश काम सकिसक्नु पर्ने अवस्थामा भत्काउने काम पनि नसकिँदा सडक विस्तार अलपत्र परेको हो ।
परियोजनाको लक्ष्य अनुसार बुटवल नारायणगढ सडक विस्तारको काम माघ १९ गतेसम्म ९० प्रतिशत बढी गरेर अधिकांश काम सकिसक्नु पर्ने हो तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इन्जिनियरिङले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डले लक्ष्यभन्दा ७८.२२ प्रतिशत कम काम भएको जनाएको छ । कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाई गर्नु, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका कारण देखाई काम ढिलो हुनुको कारण पेस गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले शुक्रबार गरेको कार्यप्रगति समीक्षा कार्यक्रममा निर्माण पक्षले विभिन्न कारण देखाएर बहाना गरेको थियो ।
त्यसैगरी सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्षादको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या लगायतका कारण पनि अगाडि सारेका छन् । कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो गर्न मजदुरहरुको संख्या बढाउन निर्देशन गरे । त्यसैगरी सडक विस्तारको क्रममा विस्तार भन्दा पनि विनाश बढी देखिएको भन्दै १०–१० किलोमिटर खण्डमा सडक विस्तार सक्दै अगाडि बढ्न पनि आग्रह गरे ।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डले पछिल्लो समय सडकमा काम गर्ने मजदूरको संख्या बढाएर ६०० प¥ुयाइएको, बर्षा अगावै कल्भर्ड निर्माणको काम सक्ने गरी अगाडि बढिएको, बर्षा अगावै भत्किएका सडकहरु पुननिर्माण गर्ने गरी काम थालिएको जनाएको छ ।
सडक विस्तार ढिलो हुँदा एक देखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न तीन घण्टा बढी लाग्ने गरेको छ । जीर्ण सडकमा उड्ने धुलोले यात्रुहरुलाई निक्कै सास्ती हुने गरेको छ । ६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड), ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुने जनाइएको छ ।