भिम भुसाल, नवलपुर ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा १६ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका अनुसार ५ ठूला दलबाहेक १६ वटा साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका १६ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । देश भक्त जनगणतान्त्रीक दलले भने चुनाव बहिस्कार गर्ने जनाउदै दल दर्ता नगराएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
भुसालका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १६ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको भुसालले बताए ।