
नवलपुर । पूर्वी नवलपरासी उमेदवारी दिने मितिको मुखमा सत्ता गठबन्धन भत्किएको छ । काँग्रेसले सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग छुट्टा छुट्टै छलफल थालेको थियो ।
छलफलको क्रममा काँग्रेसले गठबन्धनको भावनालाई नबुझेको र नवलपुरमा अन्य दललाई चारो फाले झैं गरेका कारण गठबन्धन टुटेको हो ।
नवलपुरको ५ दलीय गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ ।
गठबन्धनको मर्म नबुझेकाले काँग्रेससंगको बैठकबाट निस्केको जिल्ला संयोजक तथा वार्ता टोलीका सदस्य धनप्रसाद सापकोटाले जानकारी दिए । उनले काँग्रेससँगको गठबन्धन नमिले भने अन्य ४ दलको गठबन्धन भने कायम रहेको बताए ।

उनले काँग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जिसीले अरूलाई एक÷दुई वटा चारो झै छर्केर अरूलाई खासै पद दिन नखोजेको र काँग्रेस एक्लै पनि लड्न सक्ने कुरा बताएपछि माओवादी केन्द्र वार्ताबाट निस्केको बताए ।
माओवादीलाई आठवटा पालिकामा दुई वटा उपमेयर र जिल्लामा दश वटा भन्दा बढी वडा दिन नसक्ने बताएपछि आफू निस्केको जिल्ला सचिव तथा वार्ता टोली अर्का सदस्य सुष्मा खनालले जानकारी दिए ।
केन्द्रले पाँच दलको गठबन्धन बाहेक अरूसंग गठबन्धन नगर्न भने पनि जिल्लाका विभिन्न पालिकामा आआफ्नै तरिकाले तयार रहेको जनाईएको छ । काँग्रेस बाहेकको अरू चार दलको गठबन्धन बसिरहेको छ ।
नेकपा एसका अध्यक्ष सालिकराम भट्टराईले गठबन्धन तोड्ने चाहाना नभए पनि काँग्रेससंगको बैठकमा केही कुरा नमिलेको जानकारी दिए । यस अघि विभिन्न पालिकामा सहमति नजिक पुगे पनि आज बसेको जिल्ला स्तरीय वार्तामा सहमति नमिलेको हो ।