काठमाडौंः संस्कृतिविद् एवम वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।
ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो ।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।
जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।