यो लेख तयार पार्दा सम्म घटेका विभिन्न घटनाक्रमहरू द्दारा स्थानीय सरकार अर्थात देवचुली नगरपालिका सरकार पक्ष र।प्रतिपक्षको दोहोरो चरित्रका कारण नगरवासीको मानसपटलमा खेलिरहेको विषयलाई मथ्नु खोजिएको हो ।
चौतर्फी निराशा , राजनैतिक वितृष्णा , युवा शक्ति विदेश पलायन, नयाँ पुस्ता को विदेश सपना, वेरोजगारी , आर्थिक मन्दि, धरासायी व्यवसाय , थिलोथिलो जनजिविकाका विषय भन्दा पर बसेर सरकारले गरिरहेको काम तिनका प्रतिफलका बारेमा गरिएको सुक्ष्म विश्लेषणका रूपमा यो लेखलाई अघि बढाइएको छ ।
राष्ट्रिय राजनीतिको बारेमा बढो चासो राख्ने , अन्तर्राष्ट्रिय विषयमा धारणा राख्न सक्ने चेत बनाउदै गरेका हामीहरू एउटा पालिका भित्र भइरहेको राजनितीका बारेमा व्यापक छलफल र बहस गर्न जरुरी छ । जब सम्म आफ्नै पालिका भित्र भइरहेको राजनीति बुझ्न सक्दैनौं अथवा चासो राख्दैनौ तब सम्म ठ्याक्कै हाम्रो दैनिकीमा फरक पाउन सक्दैनौं ।
सर्वसाधारणको दैनिकीमा प्रत्येक्ष लाभ हुने ठुला विकास योजना, औधोगिकरण, राजस्व स्रोतहरूको बृद्दि र पर्यटन विकास जोड्न नसक्दा स्थानीय सरकार अझै वितृष्णाको केन्द्र बन्दै गएको छ । अघिल्लो कार्यकाल बाट जनअपेक्षित योजना र कार्यान्वयन नहुदा वर्तमान परिवेश सिर्जना भएको छ । आगामी दिनहरूमा पनि यस्तै ढंगबाट अघि बढे मान्छेले मान्छेको मासु खान्छन् भन्ने उखानले सार्थकता पाउने छ । जसलाई अब यसरी सरल रूपमा बुझ्दै जाऔँ ।
देश संघियतामा गए सँगै प्रथम पटक २०७४ र २०८९ सालमा स्थानीय तहको निर्वाचन भयो । संघियता पश्चात् प्रथम नगर प्रमुखका रूपमा नेपाली कांग्रेसबाट पूर्ण कुमार श्रेष्ठ नगर प्रमुख भए भने नगर उप प्रमुखमा नेकपा एमाले बाट पार्वता तिवारी निर्वाचित भए त्यस्तै २०७९ सालको निर्वाचनमा नेकपा एमाले बाट नगर प्रमुखमा हरि प्रसाद न्यौपाने र उप प्रमुखमा पार्वता तिवारी निर्वाचित भए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सँगै गाउँ गाउँमा सिंहदरबार र समृद्धिको सपना देवचुली बासि पनि देखे । २०७२ को महाभुकम्प , भारतको अघोषित नाकाबन्दी , र कोरोनाले थिलोथिलो भएको पालिकाको अर्थतन्त्र सुधारका निम्ति बहुमतको कार्यपालिका रहेको नेकपा एमालेक सरकारले हालसम्म कुनै ठोस कदम चालेको देखिदैन ।
अझै मजाको कुरा त के भने २०७९ को चुनानवमा नेकपा एमालेका विरूद्दमा गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादी केन्द्र त अहिले सत्ता सँग यतिबिधि आश्रित हुन पुगे कि प्रतिपक्ष नै नेकपा एमाले हो कि भन्ने अवस्थामा सिर्जना भएको छ ।
केही माओवादी नेताहरूको काम हेर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ह्याङओभर अझै उत्रिएको देखिएन । माके देवचुलिका केही शिर्ष नेताहरूका गतिविधि हेर्दा सत्ता नजिक हुन एमाले भित्रका माओवादी भए भन्दा फरक नपर्ला ।
तोरि र कोदो सँगै पिसेको जस्तै नेपाली कांग्रेस बाट वडा अध्यक्षमा निर्वाचित केही अध्यक्षहरू मात्र अधिकांश नगरका कार्यक्रममा सँगै देखिनु , पार्टीको नेतृत्व भन्दा भिन्न तरिकाबाट चल्नुले गर्दा नगरप्रमुख प्रतिपक्षको इसारामा चलिरहेको आरोप समेत नेकपा एमालेका नेता कार्यकर्ताहरूले लगाउन थालेका छन ।
राष्ट्रिय राजनीति र संघिय सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र सरकार साझेदार नेपाली कांग्रेस हुदाहुदै पनि नगरपालिका बाट विभिन्न किसिमका लाभ लिन पाउने आशामा हो कि सत्तापक्ष सँग लाचार भएर हो केही नगरवासीले केही चाल देख्न पाएनन् ।
कांग्रेस प्रतिपक्ष रहेको देवचुली नगरपालिकामा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला अधिवेशन कार्यक्रम भयो , पार्टी सभापति शेरबहादुर देउवा देखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नवलपुर आए । यसले नवलपुर कांग्रेसमा ठुलो उर्जा मिलेको देख्न सक्दछौ । गैंडाकोटमा नगर प्रमुख जित हासिल गरेको कांग्रेस देवचुली , कावासोति र मध्यविन्दु नगरपालिकालाई केन्द्र विन्दु बनाएर नवलपुरमा आउने कुरालाई सरकारमा रहेको नेकपा एमालेले र यहाँका जनताले गहन रूपमा हेर्नुपर्ने विषय बन्यो । स्थानीय सरकारका बारेमा राष्ट्रिय नेताहरूले एक शब्द नबोल्नाले मुख्यतः दुई कुराको संकेत गर्छ सुनामी अघिको शान्ति या पछिको सन्नाटा ।
उसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल पनि पटक पटक देवचुली आएका छन तर जसको कुनै प्रभाव नवलपुरमा देखिएन । यसरी हेर्दै गर्दा कमिलाको प्वाँख पलाएर उड्ने बेला जस्तै देवचुलीको कांग्रेस भएको हो त भन्ने विषयमा चर्चा सुरू भएको छ । साँच्चै प्रतिपक्ष नेपाली कांग्रेस कमजोर भएर माओवादी जस्तै एउटा वडा पनि नजित्ने हो आगामी निर्वाचनमा यो विषयमा कांग्रेस कस्तो कदम चाल्ला त्यो भने हेर्न बाँकी छ ।
राष्ट्रिय राजनीतिमा बढो तिब्र गतिमा छाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलिमा वर्तमान एमाले हुने , वर्तमान एमाले कांग्रेस हुने र वर्तमान कांग्रेस माओवादी हुने दिशानिर्देश हुदै गएको हो कि भन्ने सम्भावना प्रतिनिधि सभा सदस्य निर्वाचनले अड्कल गर्न सहज बनाइदिएको छ ।
यस्तै देवचुलीमा सञ्चार मिडियाहरू हेर्दा उत्तर कोरियाको किम जोङले जे भने त्यहि र उनको गुनगान मात्र गाउने मिडिया जस्तै भए कि भन्ने भान नगरवासिलाइ परिरहेको छ । नगरपालिकाले गेटमा रङ लगाएको देखि कार्यकक्षको पर्दा फेरेको सम्म समाचार बन्ने दिशानिर्देश भएर मिडियाहरू अघि बढिरहदा राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार र विषयमा चासो राख्ने नगरवासीमाझ स्थानीय सञ्चार माध्यमको लोकप्रियता बढ्न सकेको छैन ।
नगरपालिकाले ५००% सम्म कर बृद्दि गर्दा उद्योग वाणिज्य संघ र व्यवसायीको चर्को विरोध गरे फलस्वरूप विभिन्न शिर्षका करबृद्दि यथावत र केही प्रतिशत मात्र बढ्यो जहाँ प्रतिपक्ष दलको भूमिका देखिएन । विद्यालय व्यवस्थापन समिति देखि आमा समूहको नेतृत्व चयन सम्म राजनैतिक हस्तक्षेपका खबर आइरहदा न त सत्ता पक्ष रोकिए न त प्रतिपक्षले विरोध जनाए । ३५ दिने सूचना जारी गर्दै सडक विस्तार र नाला निर्माण प्रकृया अघि बढाउने गरि सूचना जारी भएको भोलिपल्ट देखि सडक विस्तार कागजमा सिमित हुन पुग्यो भने नाला निर्माण नाला भित्रै पुरिदै गयो ।
जनताका आधारभूत आवश्यकता पुर्ति गर्नेतर्फ सरकारको ध्यान जान सकेन , शिक्षाको क्षेत्रमा कुरा गर्दा कक्षा ११/१२ देखि स्नातक सम्म पढ्नका लागि कावासोति, गैंडाकोट र चितवनका विद्यालयको भर परिरहनु पर्ने भयो भने देवचुलीमा ती कलेजहरूका बसको संख्या मात्र बढेका छन । आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने सुकुम्बासीहरूलाइ लालपुर्जा नै दिने सम्मका चुनावी भाषण गर्ने नेताहरूले वर्तमान सरकारको नेतृत्व गरिरहेका छन । निरन्तर पहल गर्नुपर्ने काम कछुवा गतिमा अघि बढिरहेछ । जसका लागि आवाज उठाउने काममा प्रतिपक्ष मौन छ ।
नगरभित्र दिनानुदिन बढ्दै गरेको बेरोजगारी , आर्थिक मन्दिको चाप समाधान छाडेर पार्टीमा छलफल नगरि दलदले मुण्डे सडकखण्ड विस्तार गर्ने र त्यस वरपर पर्ने घरटहरा भत्काउन र नभत्काए कानुनी कार्वाही गर्ने नगरपालिकाको सूचना अत्यधिक आलोचना पश्चात् शान्त भएको छ । जुन विषयमा सत्तापक्ष बाट बढि विरोध र प्रतिपक्ष बाट धारणा नै सार्वजनिक भएन ।
नगरपालिकाले सबैभन्दा धेरै लगानी गरेर सहयोग गरेको देवचुलि जेसिजको कार्यक्रम जसले देवचुली डाँडाको पर्यटन विकास गर्ने उदेश्य थियो उक्त कार्यक्रम देवचुली चुचुरोमा पर्यटक भित्र्याउने कुराले पूर्ण रूपमा असफल भयो उसो त किर्तिपुर भने चर्चामा रह्यो । नगरपालिकाले कुनै संस्थालाइ ठुलो आर्थिक सहयोग गरेको पभन्दै केही युवाहरूले असन्तुष्टि समेत जनाए । यश विषयमा प्रतिपक्षको भूमिका शून्य देखियो । अर्कोतिर नेकपा एमालेका नेता कार्यकर्ता भने कांग्रेसको कब्जामा रहेको संस्थालाई सहयोग गरेको आरोप लगाए ।
करार कर्मचारी छनौटमा समेत नगरभित्र व्यापक रूपमा चलखेल भएको आशंका गरिएको छ । नगरपालिका द्दारा लिइएको विभिन्न पदका परिक्षाहरू कुनै ठोस कारणविना रद्द गर्नु र पुन: परीक्षा समेत नगराउनाले थप आशंका पैदा भएको छ । जसमा प्रतिपक्षको समेत मौन समर्थन देख्न सकिन्छ जसले गर्दा प्रतिपक्ष समेत लाभ लिइरहेको भन्ने जो सुकैले अनुमान लगाउन सक्छन् ।
धार्मिक स्थल समेत व्यक्तिले धन्दाको रूपमा चलाएर मासिक लाखौ रकम आमदानी गर्दा समेत करको दायरामा ल्याउन पहल भएको छैन । सार्वजनिक जग्गामा भएका मेला महोत्सव आदिमा उठ्ने आम्दानी बाट नगरपालिकाको राजस्व बृद्दि गर्ने सोचमा नगर पुग्न सकिरहेको छैन । पर्यटकीय स्थल , खानेपानी , पार्क , पिकनिक स्पट, आदिबाट हुने आम्दानी लगाएतका स्रोतहरूबाट नगरपालिकाले राजस्व संकलन गर्ने कार्यको थालनि गर्नुपर्छ । जुन विषय सत्तापक्ष र प्रतिपक्षको नजर भन्दा पर पुगिरह्यो ।
२०७९ को निर्वाचनमा नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारि दिएका नेताहरू पछिल्लो समय सामाजिक सञ्जाल मार्फत धर्मको नाममा राजनीति गर्दै धर्म निरपेक्ष , गणतन्त्र र संघियता विरोधी अभिव्यक्ति दिन थालेका छन जसले गर्दा जनतालाई थप अन्योलता सिर्जना भएको छ । स्वतन्त्र भन्दै चुनावी स्टण्ड गर्ने नगर प्रमुखका प्रत्यासिहरू यतिबेला कोही राजा आउ देश बचाउ भन्दै छन भने कोही नेपालमा अवसर नै छैन र विदेशिनुको विकल्प नभएको भन्दै बसिरहेका छन । आफू भए व्यवस्था ठिक नभए व्यवस्था नै वेठिक सम्म भन्न भ्याउनेले समेत नगर हाँक्ने सपना देखे भन्दा फरक नपर्ला कि ।
पछिल्लो समय ज्यादै सक्रिय भूमिकामा देखिएको र राम्रो काम गरिरहेको देवचुली युवा तथा खेलकुद विकास समितिले खेलकुदका क्षेत्रमा मात्र ध्यान केन्द्रित गरेको देखिन्छ । युवाको सीप, नवप्रवर्दनात्मक सोच, युवा सशक्तीकरणका लागि काम भएको देखिदैन यस विषयमा बोल्न पनि प्रतिपक्षहरू चुकिरहेका छन ।
अपांगता विषय ओझेलमा परेको छ । केही गैरसरकारी संस्थाहरू बीउ पुजी उपलब्ध गराएर व्यवसाय सुरू गरेका छन । तर नगरपालिकाले जिविकोपार्जनका लागि तालिम दिने, रोजगारीको अवसर सिर्जना गर्ने कुरामा कानमा तेल हालेर बसेको छ । अपांगको क्षेत्रमा छुट्टयाइएको बजेट बाट मान्छे भेला गरेर भाषण गर्ने र उत्सव मनाउने तयारी भइरहेको छ जसको प्रतिफल के भन्ने कुरामा अन्योल्ता छ ।
भने नेपालकै पहिलो बालमैत्री गाविस प्रगतिनगरको जगमा गण्डकी प्रदेशकै पहिलो र नेपालकै दोस्रो बालमैत्री देवचुली नगरपालिका पछिल्लो समय नयाँ तथा रचनात्मक कामका लागि सक्रिय देखिदैन फलस्वरूप देवचुलीको गहना नेपालको पहिलो बालक्लब जागृति बाल क्लब नेपाललाइ समेत नगरपालिकाले चिनिरहन नसक्दा क्रियाशील हुन सकेको छैन केही थोरै बाहेक अन्य बालक्लबहरू समेत निष्क्रिय अवस्थामा पुगेका छन । वडा र नगर स्तरमा बालक्लब गठन भएता पनि प्रत्येक्ष रूपमा कार्यसम्पादन गर्न सकेका छैनन । बालमैत्री नगर घोषणाको समयमा जस लिनका निम्ति बढो राजनीतिकरण गरिएको विषय अहिले बालबालिकाको सवालमा मौन छ ।
सरकारको गलत कदमका विरूद्दमा , सञ्चार माध्यम , प्रतिपक्ष , नागरिक समाज जबसम्म बोल्दैन तबसम्म सुशासनको अनुभुती गर्न सकिदैन ।
यसरी हेर्दा पछिल्लो समय सरकारमा रहेको नेकपा एमाले जनतामाझ अझै लोकप्रिय भएको देखिदैन । सरकारमा हुदा एमाले सर्वेसर्वा भएको छ जसले आगामी निर्वाचनका लागि समेत लक्ष्यित गरि कार्यक्रम ल्याउन सक्छ तर त्यस्तो देखिएको छैन । अर्कोतिर भने प्रतिपक्षहरू त दिन मै टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेका छन । सत्ता पक्ष र प्रतिपक्ष विचको यस्तो खेलले आगामी निर्वाचनमा आत्मघाती गोल हुनसक्ने देखिन्छ ।