काठमाडौँ ।
जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्हरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई मंगलबार नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन आज नै महोत्तरी जिल्ला अदालतले अनुमति दिएको थियो ।
घटनापछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो । सांसद साहले सोमबार विमान डिले भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए ।
सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । पौने १२ मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का–धक्की दिएका थिए ।
अढाइ बजे बुद्ध एयरको जहाज विमानस्थलमा आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए ।