१६ मङ्सिर
काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद ९साग० को औपचारिक उद्घाटनसँगै पुरुष फुटबल सोमबारदेखि सुरु हुने भएको छ। दशरथ रंगशामा सुरु हुन फुटबलमा सहभागी देशले खेलतालिकाप्रति असन्तुष्टि जनाएका छन्। सागको आयोजक नेपालबाहेक सहभागी सबै देशका प्रशिक्षक र कप्तानले खेलतालिकाप्रति असन्तुष्टि जनाएका हुन्।
पहिला भारतबाहेक ६ देशलाई दुई समूहमा विभाजन गरी खेलतालिका सार्वजनिक गरिएको थियो। तर अन्तिममा पाकिस्तानले भाग नलिने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेलतालिका सार्वजनिक गरेको थियो। नयाँ तालिकाअनुसार राउन्ड रोविन लिगका आधारमा पाँच देशले प्रतिस्पर्धा गर्दैछन्।
खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलतालिकाप्रति सबैभन्दा रुष्ट माल्दिभ्सका प्रशिक्षक पिटर सेर्गेट भए। उनले खेलतालिका दैनिक राखेकोले फिफाको नियमविपरीत भएको बताए। ‘यो खेलतालिका आपत्तिजनक छ। फुटबल केवल उपाधि जित्नका लागि मात्र हुन्न। विश्व फुटबल महासंघ ९फिफा० को नियमअनुसार एउटा खेल खेलेपछि अर्को खेलका लागि कम्तीमा ४८ देखि ७२ घण्टा आराम गर्नुपर्छ,’ यो तरिकाले कसरी फुटबल हुन्छ पिटरले भने। उनले नेपालले आफूले खेल जित्नका लागि खेलतालिका परिवर्तन गरेको आरोप पनि लगाएका छन्। खेलतालिका निकालिसकेपछि कुनै टोली नआएर अर्को टोलीले वाकओभर पाउनुपर्ने उनको भनाइ थियो। तालिकाअनुसार माल्दिभ्सले सुआतमा लगातार दुई दिन खेल्नु पर्नेछ। माल्दिभ्सले सोमबार श्रीलंकासँग खेल्दैछ।
यसैगरी श्रीलंकाका प्रशिक्षक एमएन पाकिर अलिले पनि खेलतालिका सन्तोषजनक नभएको बताए। उनले लगातार खेल्खा खेलाडी घाइते हुने चिन्ता गरे। ‘हामीले राम्रो तयारी गरेर आएका छौं। खेलका सबैको लक्ष्य स्वर्ण हुन्छ। तर लगातार खेल्दा खेलाडीको स्वास्थ्यमा समस्या आउन सक्छ,’ एमएनले भने। उनले विश्वकप छनोट खेलका श्रीलंकाले राम्रो प्रदर्शन गरेको र टोलीमा यू–२३ कै धेरै खेलाडी भएको बताए।
बंगलादेशी प्रशिक्षक जमिन डेलेसमेत सागको फुटबलतालिका देख्दा छक्क परेको बताए। ‘यस्तो खालको तालिका कहीँ देखेका थिएनौं। तर पनि हामी मैदानमा भिड्न तयार छौं। पछिल्लो समय बंगलादेशको फुटबल धेरै राम्रो भएको छ। उत्कृष्ट खेल्दै उपाधि जित्न चाहन्छौं। भुटानसँग सोमबार जित्नका लागि खेल्नेछौं,’ जमिनले भने।
भुटानका प्रशिक्षक पेम्बाले खेलतालिका फुटबलको नियमभन्दा विपरीत भए पनि आफूहरू खेल्नाका लागि तयार भएको प्रतिक्रिया दिए। ‘नेपालको हावापानी भुटानसँग मिल्दोजुल्दो छ। हामीले सागलाई लक्षित गरेर राम्रो तयारी गरेका छौं। खेलाडीको मनोबल उच्च छ। बंगलादेश राम्रो टोली हो र तर पनि भुटानले कमजोर खेल्दैन,’ पेम्बाले भने। समयको अभाव भन्दै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन र कप्तान भने देखिएका थिएनन्।