
काठमाण्डौ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि नौलो शैलीमा व्यङ्ग्य गर्नुभएको छ । उहाँले प्रतिनिधिसभाको शून्य समयमा स्वस्थानी वाचन शैलीमा यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

उहाले भन्नुभयो, ‘कुमार जी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु, थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके, अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथायां बालुवाटार प्रकरण वर्णनम नाम प्रथमोध्याय ! धन्यवाद ।’