खगेन्द्र पराजुली, नवलपुर ।
नवलपुरको देबचुली वडा नम्वर २ माईत ठेगाना भएकी कोरोना संक्रमित २४ बर्षकी युवती आज डिस्चार्ज भएकी छन् । गत जेठ ६ गते काठमाण्डौमा कोरोना पुष्टि भएकी ती युवती आज शनिवार १२ औं दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी हुन् ।
उनको काठमाण्डौको ससस्त्र प्रहरीको कोभिड १९ उपचार अस्पतालको आईशोलेशनमा उपचार भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार उनको पछिल्ला २ पटक गरिएका पुनः परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
१४ गते र हिजो १६ गते गरिएका परिक्षण नेगेटिभ आएपछि उनी आज डिस्चार्ज भएकी हुन् । रुपन्देही घर भएकी ती युवती काठमाडौमा बस्ने गर्थिन् ।
लकडाउनकै अवधिमा रुपन्देही हुदै माईतमा १० दिन बसेर श्रीमान्सँग मोटरसाईकलमा काठमाण्डौ पुगेकी उनमा कोरोना संक्रमण कहाँबाट सरेको हो भन्ने अझै स्पष्ट रुपमा खुल्न सकेको छैन ।