श्याम थापा, सुस्ता ।
स्वाब नमुना संकलन पिसिआर परिक्षणका भिटिएम खरिद गर्ने पश्चिम नवलपरासीको पहिलो स्थानीय तह मध्ये सुस्ता गाउँपालिका रहेको छ । सुस्ता गाउँपालिकाको लगानीले ४ सय भिटिएम खरिद गरि सुस्ता गाउँपालिका भित्र रहेको ७ वटा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको स्वाब नमुना संकलन गरि पिसिआर परिक्षण कार्य अघि बढाएको छ ।
सुस्ता गाउँपालिकाले मंगलबार मात्रै ७८ जनाको पिसिआर परिक्षणका लागी स्वाब नमुना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताएका छ्न।
जिल्लामा भिटिएमको अभाव भएको र क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरु गुनासो बढेको र भिटिएमकै अभावले कोहि कोहि २०-२२ दिन सम्म क्वारेन्टाइनमा बस्न पर्ने बाध्यता रहेको हुदा पालिकाले आफ्नो लगानीमा भिटिएम खरिद गरेको अध्यक्ष पाण्डेयले बताए ।
साथै अध्यक्ष पाण्डेयले आफुहरु स्वयंम एउटा सरकार भएकोले राज्यको मुख हेरेर बस्न नपर्ने र आफ्नो पालिकाको नागरिकहरुको आधारभुत आवश्यकता आफू र आफ्नो पालिकाको जिम्मेवारी रहेको हुदा आफुले भिटिएम खरिद गर्ने निर्णय गरेर खरिद गरि ल्याएर आफ्नो पालिका भित्र रहेको क्वारेन्टाइनहरुमा ५ दिन सम्म भन्दा माथि बसेका ब्यक्तिहरुको स्वाब नमुना संकलन पिसिआर परिक्षण प्रक्रिया निरन्तर रूपमा अघि बढाइरहेको उनले बताए ।
पछिल्लो समय भिटिएमको अभाव भएको कारणले क्वारेन्टाइनमा १४ दिन सम्म बसेका ब्यक्तिहरुको आरडिटी परिक्षण गरि नेगेटिभ रिपोर्ट आएका ती ब्यक्तिहरुलाई घर पठाएको पालिकाले जनाएको छ भने अब सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा ५ दिन भन्दा माथि बस्ने ब्यक्तिहरुको भिटिएम द्वारा स्वाब नमुना संकलन गरि पिसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट आउने ब्यक्तिहरुलाई घर फिर्ता गराउने पालिका अध्यक्ष पाण्डेयले बताएका छ्न ।
यसरी आफ्नो नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि पालिकाको लगानीले भिटिएम खरिद गर्ने सुस्ता गाउँपालिका र गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय अरु स्थानीय तहका लागि सिकाइको पात्र बनेको छ ।