रामकुमार श्रेष्ठ, नवलपुर ।
पूर्वी नवलपरासीमा पछिल्लो १० दिनयताको डढेलोले झन्डै १० प्रतिशत वन सखाप भएको छ । डिभिजन वन कार्यालय नवलपुरको तथ्याङ्कअनुसार यहाँ रहेको झन्डै ७५-७६ हजार हेक्टर वन क्षेत्रमध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार नवलपुरमा एकैदिन ४५ स्थानसम्ममा डढेलो लागेको छ । डढेलो लाग्ने क्रममा पछिल्लो दुई दिनयता केही कमी भए पनि डढेलो लागेको वनको क्षेत्रफल भने मोटामोटी ७ देखि ८ हजार हेक्टर बढी पुगेको अनुमान छ ।
काफ्लेका अनुसार नवलपुरमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको तथ्याङ्कले देखाएको छ । त्यसो त, यसवर्ष मौसम सुख्खा हुनु, बेलैमा जंगल सरसफाइ गर्न नपाउनु आदि कारणले पनि जंगलमा यसवर्ष बढी डढेलो लागेको नवलपुरका डिभिजन वन अधिकृत काफ्लेले बताए ।
नवलपुरका पहाडी क्षेत्रदेखि नारायणी नदीसँग जोडिएको निकुञ्जआसपासको क्षेत्रमा पनि अहिले डढेलो लागेको छ । डढेलोकै कारण वातावरण प्रदूषित भएपछि नेपाल सरकारले ४ दिनका लागि शैक्षिक संस्था बन्द गरेको थियो ।
डढेलोको धुवाँले फोक्सोमा समस्या भएको तथा दमका रोगीहरुलाई श्वासप्रश्वासमा समस्या हुने र केटाकेटी तथा ज्येष्ठ नागरिक यसबाट बढी प्रभावित हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । त्यसैगरी, धुवाँको एलर्जीले आँखा पोल्ने, आँखा चिलाउने, रातो हुनेजस्ता समस्याहरु आउन सक्ने उनले बताए ।
सरकारले डढेलो नियन्त्रणका लागि बर्सेनि अर्बौं रूपैयाँ खर्च गर्ने गरे पनि त्यसको प्रभावकारिता यसवर्ष खासै देखिएको छैन । जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोलाई वनका उपभोक्ता, सशस्त्र प्रहरी र वनका कर्मचारी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
मध्यविन्दु नगरपालिकाको चोरमारा र डण्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको उनको भनाइ छ । सञ्चारमाध्यमबाट सूचना सम्प्रेषण गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम तथा गोष्ठी गरेको उनले बताए । हाल वनमा आगो देखिनुमा चरम लापर्बाही रहेको हुन सक्ने आँकलन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेका अनुसार समयमै दाउरा नखोल्दा उपभोक्तामा सामुदायिक वनप्रतिको माया घटेका कारण यस्तो भएको हो । तथापि, सरकारले बेलैमा दाउरा खोल्दिएन भनेकै भरमा वनमा सरसफाइ नगर्नु भने दुःखद भएको उनले बताए । ठाकुर पाण्डेका अनुसार सरकारले यसवर्ष सचेतनाको कार्यक्रम कम गरेकै कारण पनि यस्तो भएको हो ।