नवलपुर ।
नेपाल विद्युत् प्राधिकरण हेटौँडा–भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारणलाइन आयोजना र पूर्वी नवलपरासीका विभिन्न स्थानका स्थानीयबीच देखिएका विवादप्रति नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाका आदिवासी जनजाति समुदायको मागलाई सम्बोधन नगरी विद्युत् लाइन विस्तार कार्य अगाडि बढाएकोप्रति महासंघले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । स्थानीयहरुको हक र अधिकारलाई बेवास्ता गर्दै कार्य अगाडि बढाएको र प्रहरी प्रशासनको दुरूपयोग गरी स्थानीयहरुप्रति दमन गरेको पनि विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।
सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक एकताको परिकल्पना गरिरहेको अवस्थामा नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्यअन्तर्गतका धाराहरुको उल्लङ्घन हुने गरी र नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय श्रम संगठन १६९, संयुक्त राष्ट्रसंघ घोषणापत्र २००७ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको खिल्लीसमेत उडाउने कार्य भएको विज्ञप्तिमा ठहर गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय आदिवासी जनजाति समुदायका सवालहरुलाई संवाद र आपसी समझदारीमा समाधान गर्नसमेत अनुरोध गरिएको छ ।