अस्थिपन्जर मात्रै बोकेर
हिउंदको चिसो सिरेटो
खपिरहेको
मेरो छिमेकी रुखमा
समयले लालित्य भर्दै छ
प्रबासी
हरेक नव बिहान
हरेक नव दिन
हरेक नव बर्ष
एक्लै उठ्छु
नजर डुलाउछु
न बाआमा भेट्छु
न भाइबहिनी भेट्छु
न नै साथीसंगी
छातीमा हात राखेर भन्दा
धेरै दिन, महिना र बर्ष
मैले
मलाई नै नभेटी बितेका छन्
अचेल जीन्दगीमा
नखोजेरै भेटिने
सधैं भेटिने
उ एक मात्र हो
सम्बन्ध
स्वार्थको छ
एकतर्फी छ
मलाई चाहिँदा मात्र
सुखमा चट्टै भुल्छु
अंह : कत्ति याद आउदैन
तर दुखमा
फेद मुनि बसेर
सुक्क सुक्क रुने
बिलौना गर्ने
समयले आंधी, हुरी पठाउछ
लुच्छ, चिथोर्छ
उजाड, कुरुप बनाउछ
सयौंको घर बनिदिन्छ
जीन्दगी दिन्छ
परिवार दिन्छ
बिडम्बना
उ कसैको आफ्नो बन्न सक्दैन
मैले मेरो तिलको गेडालाई
पहाड सम्झेर हरेस खाईरहंदा
उ आफ्ना पहाड समान दुखलाई
गर्भमै च्यापेर
जीवन बाँडीरहेछ
कहिले झर्छ, मुर्झिन्छ
कहिले फुल्छ, फक्रन्छ, फैलिन्छ
न झर्दा हरेस खान्छ
आतिन्छ
न फुल्दा घमण्ड गर्छ
मातिन्छ
मलाई
रुखझैं बन्नुछ
जरा दरोसँग
जमिनमा गाडिएको
अनि टुप्पो
आकाश ताकेर फैलिएको
प्रिय मन
नव बर्षमा
नव दिनमा
नव बिहानमा
नयाँ भबिष्यको
शुभकामना दिंदा
रुखझैं बन्नु भन्नु है !
मेरो पनि शुभकामना
ऐजन ऐजन
कपिल अर्याल (नवलपुर हाल जर्ममन)