कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले ८ बुँदे अत्यन्त जरुरी अपिल जारी गरेको छ ।
सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी अपिलमा कोरोना प्रभावित हुनेको संख्या र उमेरमा फरकपना देखिएको तथा बालबालिका र युवा वषर््मा संक्रमण र मृत्युको बढ्दो गति देखिएको उल्लेख छ ।
संक्रमणबाट जोगिन संवेदनशील बनिदिन र जनस्वास्थ्यका मापदण्ड कडाइका पालना गर्न अपिल गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरू, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, शपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरूमा सहभागी नभइदिन हुन आग्रह गरिएको छ ।