नवलपुर ।
नवलपुरको मध्यविन्दु –९ का विष्णु भण्डारीले जातिय विभेद गरेको भन्दै मोसो दलेको घटना प्रहरी कार्यालय पुगेको छ ।
बैशाख १ गते आरोपित भण्डारीले वनभोजको क्रममा स्थानीय दिपक विकलाई जातिय विभेद गरेको भन्दै आइतबार भण्डारीलाई मोसो दलेका थिए । वनभोजमा खाना खाने समयमा आफुमाथि जातिय विभेद गरेको दिपक विकको आरोप छ ।
यता आफुलाई मोसो दलेर दुव्र्यवहार गरेको भन्दै भण्डारीले भने जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका छन् । उनले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले मोसो दल्नेहरुलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ ।
आफुलाई स्थानीय ६५ रन बहादुर बि.क. को नेतृत्वमा दिपक बि.क., हरि बि.क., प्रमोद बि.क. र नर बहादुर कुमाल सहितका व्यक्तिले मोसो दलेर अभद्र व्यवहार गरेको भन्दै भण्डारीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताए ।
मोसो लगाउने पक्षले भने जातिय विभेद गरेको कारण मोसो दलेको बताएका छन् । प्रहरीले भने जातिय विभेद भएको सम्बन्धी कुनैपनि उजुरी कार्यालयमा नआएको बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान पस्चात मात्रै विस्तृत विवरण आउने डिएसपी गिरीले बताए ।