ज्ञानु पंगेनी , नवलपुर ।
पूर्वी नवलपरासीमा १५ जना भन्दा बढि जन्ती बोकेका सवारीलाई प्रहरीले कडाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा शुक्रबारदेखि तपाईंको मास्क खोई रु अभियान सुरु गर्दै १५ जना भन्दा बढी जन्ती बोकेका सवारीलाई रोकेको छ । सरकारले बिहेमा १५ जना भन्दा बढि जन्ती जान नपाउने निर्णय गरेकाले त्यसको पालना नगरेका जन्ती बोकेका बस तथा जीपलाई प्रहरीले केहि समय होल्ड गरेको छ । जन्ती पक्षकाले एक पटकका लागि छाडिदिन आग्रह गरेपनि जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप कुमार गिरीले तपाईं हामिले नै नियम उल्लङघन गरे कसले पालना गर्ने रु भन्ने प्रश्न गर्दै १५ जना बाहेक अन्यलाई झारेपछि मात्रै जन्ती बोकेका सवारीलाई जान दिनुभयो । नियम नमान्नेलाई एक पटक भन्दै छाडिदिने हो भने सबैले नियमको उल्लङघन गर्दै जाने भएकाले कडाई गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले बताउनभयो ।
प्रहरीले शुक्रबारदेखी तपाईंको मास्क खोई ? अभियान सुरु गरेको हो । डिएसपी गिरीले मास्क लगाउँदा कोभिड – १९ बाट मात्र नभई धूलो धुँवाबाट समेत बच्ने भएकाले अहिलेको माहामारीका बेला मात्र नभई अन्य समयमा पनि घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै प्रहरीले आफु पनि बच्न र अरुलाई पनि संक्रमणबाट बचाउन सहयोग गर्ने काममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रहरीले यस अभियानलाई निरन्तरता दिने र नियम उल्लङघन गर्नेलाई कडाई गर्ने उहाँले बताउनुभयो । उहाँले अत्यावश्यक काम बाहेकघरबाहिर ननिस्कन समेत सबैमा आग्रह गर्नुभएको छ ।