
भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ९ मा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । कोरोना संक्रमणको वृद्धिदर बढेसँगै वडाले बिरामीलाई अस्पताल समयमै पुर्याउन अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । बिरामीको एम्बुलेन्स अभावमा ज्यान बचाँउन, निषेधाज्ञाको समयमा अटो चालकले समेत आम्दानी गर्न सक्ने गरि अटो एम्बुलेन्स सञ्चालनमा ल्याईएको देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मेखबहादुर सारुले बताउनुभयो ।

नगरभित्र एम्बुलेन्स अभावमा संक्रमितको ज्यान गएको घटनालाई स्मरण गर्दै अध्यक्ष सारुले त्यस किसिमका घटना वडा भित्र हुन नदिन अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउनुभयो । वडा भित्र रहेका २२ वटा अटो मध्ये प्रथम चरणमा ८ अटो चालकलाई पिपिई सहित ग्लोब्स, फेशसिल्ड र माक्स हस्तान्त्रण गरिएको छ । अन्य १४ चालकलाई समेत ग्लोब्स, फेशसिल्ड र माक्स प्रदान गरिएको छ ।
कोरोनाको दोस्रो संक्रमण फैलिएसँगै देवचुली नगरपालिका वडा नम्बर ९ मा हाल सम्म ८ जना संक्रमित भएका छन् जसमध्ये ४ जना निको भैसकेका छन् र एक जनाको मृत्यु भएको छ ।