
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको घटनाप्रति सरकारले आपत्ति जनाएको छ।आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी नगर्न भनेको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’
सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने उल्लेख गर्दै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्ध गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख गरेको छ। मन्त्रालयले मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह समेत गरेको छ।
‘मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिनेछ‚’ विज्ञप्तिमा उल्लेख छ।