
काठमाडौ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाल आज (बुधबार) बंगलादेशसँग भिड्दै छ।
सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल आज बंगलादेशसँग बराबरी भए पनि पहिलोपटक साफको फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशले जित्यो भनेचाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ।समान ६ अंक भए पनि आयोजक माल्दिभ्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा उक्लिँदा भारतसँग हारेका कारण नेपाल दोस्रो स्थानमा झरेको हो।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो भने तेस्रो खेलमा भारतसँग १–० ले हारेको हो। अब आजको खेलमा बंगलादेशसँग हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ भने बराबरी भए पनि ७ अंक बनाउँदै फाइनलमा पुग्नेछ। जित्यो भने त नेपाल ९ अंकका साथ स्वतः पहिलोपटक साफको फाइनल प्रवेश गर्नेछ।
माल्दिभ्सको मालेस्थित नेसलन स्टेडियममा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा नेपाली समयानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ।
यस्तै साफको फाइनल प्रवेशका लागि आजै भारत र माल्दिभ्सबीच पनि प्रतिस्पर्धा हुँदै छ। नेपाली समयानुसार राति ९:४५ बजे सुरु हुने याे खेल पनि रोमाञ्चक हुनेछ।
किनकि भारतसँग बराबरी भए पनि आयोजक माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ। तर भारतले भने फाइनल प्रवेशका लागि खेल जित्नैपर्छ अन्यथा ऊ प्रतियोगिताबाट बारिहनेछ।
माल्दिभ्स विजयी भएमा ९ अंकसहित स्वतः फाइनल पुग्नेछ भने बराबरी भए पनि ७ अंकका साथ अघि बढ्नेछ। ५ अंक रहेको भारत भने बराबरी भए खेलबाट बाहिरिनेछ।
साफको फाइनल पुग्ने दुवै टोलीको टुंगो आजै लाग्नेछ।
फाइनल प्रवेशका लागि आज भिड्न लागेका चार टोलीमध्ये अहिलेसम्म साफको उपाधि नजित्ने देश नेपाल मात्र हो।
साफमा भारत सर्वाधिक सफल टोली हो। उसले अहिलेसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ। यस्तै माल्दिभ्सले २ पटक र बंगलादेशले १ पटक उपाधि प्राप्त गरिसकेका छन्।
नेपाल भने अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन। तसर्थ आज बंगलादेशसँगको प्रतिस्पर्धामा जिते वा बराबरी भए पनि नेपालका लागि ऐतिहासिक जित हुनेछ, अर्थात् पहिलोपटक साफको फाइनलमा पुग्नेछ।
नेपाल र बंगलादेशको भेट
नेपाल र बगंलादेशबीच अहिलेसम्म २२ पटक भेट भएको छ। सन् १९८३ मा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल १३ खेलमा हारेको छ भने २ खेलमा बराबरी भएको छ।
नेपालले भने ७ खेलमा मात्र जित निकालेको छ। यी दुई टोलीबीच पछिल्लो पटक २०२१ मा नेपालमा भएको थ्री नेसन्स कपमा भिडन्त भएको थियो। त्यसमा नेपाल २–१ ले विजयी भएको थियो। त्यसअघि सन् २०२० मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो।