कावासोती ।
नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्घाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले उद्घाटन गर्नुभएको हो ।
पार्टी कार्यालय उद्घाटनसँगै पदभार ग्रहण कार्यक्रम समेत बुधबारनै सम्पन्न गरिएको छ ।
यस अघि फिल्महल चोकमा रहेको नेकपा एमाले नवलपुरको पार्टी कार्यालय फिल्महल चोकबाट २ सय मिटर उत्तरतर्फ परिवर्तन चोकमा सरेको हो । पार्टी कार्यालय उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवं सांसद तिलक महतले पाटि थप शसक्त रुपमा अगाडि बढ्ने बताउनुभयो । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा नवलपुरमा धेरै विकास निर्माणका काम सुरु भएको स्मरण गर्दै एमालेको समृद्ध नेपाल निर्माणको अभियानमा जोडिनेको संख्या समेत बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने केन्द्रिय सदस्यहरू कृष्ण पौडेल, रविन्द्र अधिकारी, प्रदेश सभा सदस्य रोशन गाहा लगायतका नेताहरूले पार्टीलाई थप सङ्गठित बनाउँदै लैजानुपर्ने, तीन महिना पार्टी प्रवेश अभियानको रुपमा कार्यक्रम गर्नुपर्ने र नवलपुरमा एमालेलाई थप मजबुत रुपमा स्थापित गराउन सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमका अध्यक्ष एवं पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले कार्यालय व्यवस्थापनसँगै अब योजनाबद्ध रुपमा पार्टीका बिभिन्न गतिविधि सञ्चालनलाई तिव्र पारिने बताउनुभयो । कोभिडका कारण कतिपय पार्टी र सङ्गठनका काम गर्न असहज बनेको भएपनि क्रमश अब हरेक क्षेत्रमा पार्टीलाई सङ्गठित बनाउन काम गरिने बताउनुभयो ।