देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको मनकामना क्रसर उद्योगमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ मा रहेको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा क्यान्टिन चलाउने महिलाको निधन भएको हो । क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा जेसिभीको अगाडीको भागले ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा हिजो साँझ ७ बजेको समयमा निधन भएको प्रहरीले जनाएको छ ।ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ ।
ठक्कर दिने चालक देवचुली ४ झाक्रेँ निवासी १९ बर्षीय यमबहादुर नेपालीलाई रातको १०ः ३० को समयमा प्रहरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।