
देवचुली ।
बिशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बीसौं साधारण सभा तथा सातौं अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं। ९ को खानेपानी संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशनको संघीय मामिला तथा सामान्य विकास मन्त्रालयका उप–सचिव विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भुसालले खानेपानी सेवा प्रवाहमा थुप्रै चुनौती रहेकाले ति चुनौतीलाई समाधान गर्न सक्ने नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। मानवीय तथा प्राकृतिक कारणले खानेपानीका स्रोत, मुल–मुहान सुक्ने क्रम बढ्दै गईरहेकाले थप स्रोत पहिचान र भईरहेका स्रोतको संरक्षणमा उपभोक्ता र संस्था सचेत रहनुपर्नेमा सुझाव दिनुभयो ।
साधारण सभाका अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष लिलाधर कंडेलले बर्षेनी बर्खाको समयमा लेदो सहितको धमिलो पानी खान बाध्य उपभोक्तालाई ३ लाख लिटर क्षमताको फिल्टर सहितकाृे ट्यांकी निर्माण गरी शुद्ध पानी वितरण गर्ने चरणमा प्रवेश गरेको बताउनुभयो । ६ सय ५ उपभोक्ताका घरघरमा धारा पुगेको प्रगति सार्वजनिक गर्दै कंडेलले अव सवै घरमा धारा पुर्याएर शुद्ध पानी आपुर्ति गर्न संस्था लागिपरेको बताउनुभयो।
वडाध्यक्ष मेखबहादुर सारु लगायत एमालेका रामप्रसाद पन्त, कांग्रेसका कृष्ण थापा, माओवादी केन्द्रका कृष्ण क्षेत्री, एकिकृत समाजवादीका तारा काफ्ले, जसपाका दुर्गाप्रसाद काफ्ले, घुमाउरी सामुदायिक वनका दीपक भटराई लगायतले खानेपानीको सेवा सुधारमा विगतदेखि भएको प्रयासको प्रसंसा गर्दै अझ धेरै प्रगति र सुधारमा लाग्दै गुणस्तरीय पानी उपलब्ध गराउन र सुविधा प्रदान गर्नेतर्फ ध्यान दिन सुझाव दिएका थिए ।
संस्थाका अध्यक्ष लिलाधर कंडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन सचिव खगराज कंडेलले गरेका थिए ।