पूर्वी नवलपरासी — किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । पललाई आजै जिल्ला प्रहरी कार्यालय ल्याउने वा ईलाका प्रहरी कार्यालयमै राख्ने भन्ने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ ।
बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।
जिल्ला प्रहरीका सूचना अधिकारी दिलिप गिरीले बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिए । तनहुँमा पनि उनै किशोरीले शाहले बलात्कार गरेको भन्दै दुई साताअघि मुद्दा दर्ता गरेको विषयमा अनुसन्धान गर्न शाहलाई प्रहरीले हिरासतमा राखेर गरेको अनुसन्धान पूरा भएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।
प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।