काठमाण्डौ, ६ असार ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताउनु भयो । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ ।